क्यान्भासमा उत्तरगया : मनमोहक फलाखु र त्रिशूली नदी

–नारायण ढुङ्गाना

रसुवा, २३ कात्तिक: कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । भित्र्याइसकेको खेतका टम्म मिलेका सुख्खा गरा । माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशूली ।

हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौँबाट कलायात्रमा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए । क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया) का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उहाँको मन तान्यो । बेत्रावतीको भीमसेनथानबाट क्यामरामा कैद भएको नुवाकोटको दुप्चेलाई एक्रेलिकको माध्यामबाट उहाँले क्यानभास रङ्ग्याउनुभयो । उत्तरगयास्थित त्रिशूली र फलाखु खोलाको सङ्गम किनारबाट चित्रकार राधेश्याम कर्माचार्यले पाखा, पखेरा र ढुङ्गासँग पौँठेजोरी खेल्दै नागबेली भएर छङछङ बग्दै गरेको त्रिशूलगङ्गालाई क्यान्भासमा उतार्न चुक्नुभएन ।

वैदीक पुराण श्रीमत्भागवत्को हिमावत्खण्डमा वर्णित गोसाईकुण्डबाट बग्ने त्रिशुलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिने ठाउँ उत्तरगयाको रुपमा प्रख्यात छ । भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ की छैन भनेर सोध्ने चलन रहेकाले पनि यसको महत्व धेरै छ भन्न सकिन्छ । नेपाली पर्वहरुमा विभिन्न जिल्लाबाट आएर ब्रतालुहरुले स्नान गर्ने ठाउँमा ‘रसुवा कला यात्रा’ लिएर यसपाली राजधानीबाट चित्रकारहरुको टोली पुगेको हो ।

ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे । कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशूलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा उन्नुभयो । उहाँहरुको चित्रमा त्रिशूलीको छालमात्रै होइन काउले, भाल्चे र माने गाउँको दृष्यसमेत कैद गरेका थिए । केही माथि दृश्य उतार्दै हुनुहुन्थ्यो अर्का कलाकार दिवेश प्रधान । गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दैगरेको त्रिशूलीको बहावमा उहाँको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले ।

तल्लो भेगमा हुनुहुन्थ्यो कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे । त्रिशूलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल र यहाँ रहेको ठूलाठूला ढुङ्गासहितको प्राकृतिक दृष्य उहाँहरुको क्यान्भासमा प¥यो ।

कलाकार प्रजापति भन्नुहुन्छ, “ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाईभित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो ।” त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशूलीसँगै देखिने माथिल्लो पहाडी बस्ती क्यानभासमा उतार्न कुचि चलाउँदै हुनुहुन्थ्यो कलाकार झलक केसी । माने गाउँलाई पुष्टभूमिमा राखेर त्रिशूलीको बहाबलाई कैद गर्नुभएका केसी त्रिशूलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएको अनुभव सुनाउनुहुन्छ ।

अलिमाथि फलाखु खोलाको बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भामा दृष्य बनाउनुभयो । क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो । कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन । उहाँले हरिबोधनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाल्नुभयो । कञ्चन फलाखु खोला र त्रिशूलीको मिलन विन्दु, त्यसमाथि बनेको झोलुङ्ग् पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उहाँको क्यान्भासमा स्थानपायो । लक्ष्मीप्रसाद खतेजा र तथागत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उतार्नुभयो ।

ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान शिवले कालकुट विष (हलाहल) सेवन गरेका र कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको वेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविस्वास छ । त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो । (रासस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *