सरकारका उपलब्धिलाई जनतामाझ पुर्याउनु पर्छ – नेता अधिकारी

पोखरा, २१ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले गरेका उपलब्धिलाई जनतासमक्ष पुर्याउनुपर्ने बताउनुभएको छ । मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्पmबाट विद्या भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणासभामा उहाँले सरकारले गरेका राम्रा कामको प्रचार गर्दै आम जनतामाझ पुग्नुपर्ने बताउनुभयो ।

कास्की २ मा विगतमा हासिल गर्दै आएको जितलाई यस पटक पनि सुनिश्चित गर्न आम कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उहाँको जोड थियो । विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न पार्टीले विद्या भट्टराईलाई निर्वाचनमा अगाडि बढाएको बताउँदै उहाँले मतको संरक्षणका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपाका तर्फबाट नेकपा कास्की क्षेत्र नं २ का उम्मेदवार भट्टराईले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले अधिकारीको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको बताउँदै पीडा र अभावलाई पूरा गर्न पार्टीको उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअघि जिल्ला पार्टी कार्यालयबाट जुलुससहित निस्केको ¥याली निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्तापश्चात् घोषणासभामा परिणत भएको थियो । (रासस)

Facebook Comments