शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, कोभिड लागेका गर्भवतीका लागि छुट्टै कक्ष
दैनिक नेपाल बिशेष

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, कोभिड लागेका गर्भवतीका लागि छुट्टै कक्ष

चितवन, १६ भदौः कोभिड–१९ सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन शुरु गरेको अस्पतालले जनाएको छ । चितवनसहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो ।

यस अस्पतालमा वार्षिक १३ हजारभन्दा बढी गर्भवती सुत्केरी हुने गर्दछन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यहाँ बच्चा जन्माउने गरेका छन् । अन्यत्रभन्दा सुरक्षित ठानेर नै यहाँ बढी गर्भवती सुत्केरी हुन आउने गरेको उहाँको भनाइ छ । हालसम्म अस्पतालले चार जना कोरोना सङ्क्रिमण भएका महिलाको प्रसूति गराइसकेको छ । एक जना महिला आइसोलेसनमा रहेको सापकोटाको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यही शुक्रबारसम्ममा ती कक्ष तयार हुने गरी काम भइरहेको छ । कोभिडको आइसोलेसन बनाइएको अस्पतालको ‘ए’ ब्लकको भुइँतलामा यसअघिको सर्जिकल क्याबिनका १० कोठामध्ये चार कोठामा छुट्टै कक्ष बनाउन थालिएको छ । तिवारीको भनाइमा कोभिड आइसोलेसन रहेकै ठाउँमा प्रसूति कक्ष निर्माण गरिँदै छ । कोभिड सङ्क्रमित आमाबाट जन्मिएका बच्चा राख्ने ठाउँमा भेन्टिलेटरसमेत जडान गरिने तिवारीले जानकारी दिनुभयो ।

कोभिडका बिरामी आउने छुट्टै प्रवेश क्षेत्र भएकाले उनीहरुबाट अन्य सुत्केरी र बिरामीलाई कुनै समस्या हुने छैन । अस्पतालको “ए” व्लकको भुई तलाको सर्जिकल बिभागका छ कोठा र अर्थोपेडिक कक्षलाई हाल कोभिड आइसोलेसन बनाइएको छ । सोही ठाउँमा कोभिड प्रसूति कक्ष बनाउन लागिएको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले परोपकार प्रसूतिगृह पछि देशमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल भएकाले आवश्यक सम्पूर्ण तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी झै हामी तर्किन पाउँदैनौँ । कोभिड भएका गर्भवतीको प्रसूति गराउनु पर्ने भएकाले छुट्टै व्यवस्था गर्न लागेका छौँ ।”

भरतपुर अस्पतालले १० श्ययाको कोभिड सघन उपचार कक्ष पनि सञ्चालन गरिरहेको छ । यस अस्पतालले जिल्लामा कोभिड उपचारको नेतृत्व गरिरहेको छ । मेडिकल कलेज, निजी अस्पताल सबैको सहकार्यमा कोभिड उपचार गराइएको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालले गएको वैशाख महिनाबाट कोभिड उपचार गरिरहेको छ । कोभिडका बिरामीलाई छुट्टै ठाउँमा उच्च सावधानी अपनाएर उपचार भइरहेकाले अन्य बिरामी पूर्ण सुरक्षित रहेको उहाँले बताउनुभयो । कोभिड शल्यक्रिया कक्षमा प्रसूति बाहेककाको शल्यक्रियासमेत गर्न सकिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालले कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ ।

चितवन मेडिकल कलेजमा उपचारत थप एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का ५२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान २ः५२ बजे उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । चितवनका नौ, मकवानपुरका चार, बारा, गोर्खा, कैलाली र नवलपरासी सुस्तापूर्वका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लामा ७३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार