बुधबार, कार्तिक १२, २०७७ | Wednesday 28th October 2020
  • होमपेज
  • पानी परेपछि राहत, अब मलको चिन्ता
समाज

पानी परेपछि राहत, अब मलको चिन्ता

– गोपालप्रसाद बराल,

महोत्तरी, ८ भदौ: धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए ।

“राम्रो पानी पर्यो, धान रोपिएका खेतका गरा पानीले टन्न भरिएका छन्”, आइतबार साँझदेखि आज सोमबार बिहानसम्म राम्ररी परेको पानीले खुशी भएका जिल्लाको बर्दिबास नगरपालिका–७ बनराका किसान धर्मानन्द काफ्लेले भन्नुभयो, “अब चाहिँ धान फेरिने आस जाग्यो ।” महोत्तरीसहितका आसपासका जिल्लामा साउन मध्ययता पानी नपर्दा आकासे पानीको भरका किसान चिन्ताले रुमलिएका थिए । भदौ शुरु भएसँगै दिनहुँ बहने तातो बतासले त खेतबारी रुखिएर खडेरी पो पर्छ कि भन्ने बढेको चिन्ता पछिल्लो वर्षाले हटाएको किसानको भनाइ छ ।

असार अन्तिम सातादेखि साउन मध्यसम्म लगातारको वर्षाले वाक्कदिक्क भएका किसान त्यसयता पानी रोकिएपछि सन्तोस मान्दै थिए तर प्रचण्ड घामको राप बढ्दै गएर पछिल्लो साताको चैत वैशाखको जस्तो हुरहुरे बतास चल्न थालेपछि खेतबारी रुखिएर बाली पहेँलिदै सुक्न थालेपछि भने अनिकाल पर्छ कि भन्ने चिन्ताले घर गरेको थियो । “धानमात्र नभएर तरकारीका बेला, नयाँ फलफूलका बोट र उखु पनि पानीबेगर ओइलाएका थिए”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले लामो सन्तोषको सास फेर्दै भन्नुभयो, “पछिल्लो वर्षा त अमृत नै भयो ।”

पानी परेपछि धानमा युरिया (नाइट्रोजन) मल हाल्न पाइने÷नपाइने नयाँ चिन्ता किसानलाई परेको छ । यसअघि धान रोपिएसँगै बजारमा मलको हाहाकार भएर किन्न नपाइएको किसानको दुखेसो छ । रोपो सरेपछि युरिया मल हाल्न नपाउँदा धानको रोपो राम्ररी गाँजिन नपाएको किसान बताउँछन् । अहिले पानी परेपछि तत्काल युरिया नहाले हिउँदे धान राम्ररी नपोटाउने लोहारपट्टी नगरपालिका–१ का किसान जगन्नाथ यादव बताउनुहुन्छ । “त्यतिखेर धानको रोपो सर्नासाथै बजारमा कतै युरिया मल पाइएन”, यादवले भन्नुभयो, “खै अहिले के हुने हो ? मल नपाए त धानको राम्रो उत्पादन लिन सकिँदैन ।” कृषि सामग्री (बीउबिजन, मल ) बेच्ने स्वीकृति पाएका आफ्नो वरपरका ‘एग्रोभेट’ पसलले मल नभएको बताउँदा किसानले कालाबजारीयासँग चर्को मूल्यमा कमसल मल किन्नु परेको यादवको थप गुनासो छ ।

जिल्लाको कूल खेतीयोग्य करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमात्र कुलो लाग्ने सिञ्चित छ । बाँकी आकाशे पानीको भरकै हुँदा कहिल्यै ठिक समयमा खेती लगाउन नपाइएको किसान बताउँछन् । “न पानी, न खेतीपातीका लागि सुलभ ऋणको व्यवस्था, न कृषि सामग्री पाइने भरपर्दो ठाउँ न कृषि उत्पादनको सुनिश्चित बजार..! अन्धकार नै अन्धकारमा पसिना बगाइँदै छ” भङ्गाहा–६ सङ्ग्रामपुरका किसान जासर यादव विरक्तिँदै भन्नुहुन्छ । भन्नलाई तीन तहका सरकार भए पनि किसानको पिरोलो सम्बोधन भने हुन नसकेको यादवको गुनासो छ । विगतमा कृषि क्षेत्रकै सरकारी सेवाबाट अवकास लिनु भएका यादव जिल्लाका स्थानीय तहहरुमा कृषि शाखासम्म व्यवस्थित हुन नसकेको कुरा कृषि उपेक्षित भएको प्रमाणमा उभ्याउनु हुन्छ ।

यसैबीच प्रदेश–२ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका खेत खेतमा सिँचाइ सुविधा पुर्याउन वैकल्पिक उपाय अवलम्बन गरिने नीति बनाएको छ । यसका लागि भूमिगत सिँचाइ (डिप बोरिङ्ग, इनार निर्माण र ससाना सिँचाइ प्रयोजनका लागि ढिकी पम्प) र सम्भव भएका नदीमा बाँध कुलोको व्यवस्था गरिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभएको छ ।

यसबाहेक समयमा सुलभ ऋण, बीउबिजन, मलको व्यवस्था र कृषि बजार प्रवद्र्धनका क्षेत्रमा काम गरिने मन्त्रालयले जनाएको छ । कृषि कार्यलाई व्यवस्थित गर्न यसै चालु आर्थिक वर्ष २०७७÷०७८ भित्रै प्रदेशका आठवटै जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय सञ्चालनमा आइसक्ने मन्त्री साहको भनाइ छ । यसअघि वर्तमान संविधान लागु भएयता जिल्ला÷जिल्लाका जिल्ला कृषि विकास कार्यालय विघटन भई दुई÷दुई जिल्लामा काम गर्ने गरी कृषि ज्ञान केन्द्र सञ्चालन हुँदै आएका थिए । त्यसैगरी यसै आवभित्र सबै जिल्लामा पशु स्वास्थ्य सेवा सञ्चालन गरिने मन्त्रालयको निर्णय छ ।

यता किसानले भने मुख्यतः स्थानीय तहमा कृषि शाखा व्यवस्थित गरिनु पर्ने र यस तहबाटै प्रदेश र सङ्घीय सरकारसमक्ष कृषिसम्बन्धी योजनाको समन्वय हुनसके चाँडै कामले गति लिने सर्वसाधारण किसानको ठम्याइ छ । यद्यपि जिल्लाका १५ स्थानीय तहमध्ये अहिलेसम्म कुनै नगर कार्यपालिका वा गाउँपालिकाको कार्यालयमा कृषि शाखा नै सञ्चालन हुन सकेका छैनन् । यो स्थिति अन्त्यका लागि सबै स्थानीय तहलाई आआफ्नो कार्यालयमा तत्काल कृषि शाखा सञ्चालनमा ल्याउन समन्वय गरिएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार