मंगलबार, अशोज ६, २०७७ | Tuesday 22nd September 2020
  • होमपेज
  • चितवनमा ४४९ क्यूफिट काठ बरामद
समाचार

चितवनमा ४४९ क्यूफिट काठ बरामद

भरतपुर,४ भदौ:  डिभिजन वन कार्यालय चितवनले अवैध ४४९ क्यूफिट काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो । भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ । सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताउनुभयो ।

“काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन”, उहाँले भन्नुभयो’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ ।” फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ । काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताउनुभयो । यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ ।

गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिनुभएको छ । सालको गोलाइको स्रोत खुलेको छैन । उहाँले स्थानीयवासी शङ्कर नेपालको निजी जग्गामा लगाइएको साल ल्याएको बताए पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । “काठ कहाँबाट ल्याइएको हो भन्ने प्रमाण देखिएको छैन”, खनालले भन्नुभये, “पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।” स्थानीयवासीको सूचनाका आधारमा काठ बरामद गरिएको हो । देशमा कोभिड –१९) सङ्क्रमण बढिरहेका बेला काठ तस्कर गर्नेहरु सक्रिय भएको खनालले बताउनुभयो ।(रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार