बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • ओझेलमा पर्यो पुरातात्विक कैलाश आश्रम
दैनिक नेपाल बिशेष

ओझेलमा पर्यो पुरातात्विक कैलाश आश्रम

नवलपुर, १२ साउनः नवलपरासी बर्दघाट (सुस्तापूर्व)को गैँडाकोट–१३ मा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छन् । सेनकालीन सभ्यता झल्किने मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हुन् ।

चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा पर्ने यस स्थानमा सात वर्ष अघि पुरातत्व विभागले उत्खननसमेत गरेको थियो । विभागले आर्थिक वर्ष २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट एक हजार ५०० सय भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो । हरेक ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला देख्न पाइन्छ ।

विभागले गरेको उत्खनन्का क्रममा यहाँ चौधौँ वा पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले जानकारी दिनुभयो । “यस स्थानको उत्खननपछि पुरातत्व विभागले समेत यहाँ शिवको भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने बताएको छ”, उहाँ भन्नुभयो, “यद्यपि यहाँ भग्नावशेष भेटिएको मन्दिर कति वर्ष पुरानो थियो भनेर विभागले समेत यकिन गर्न सकेन ।” यहाँ उत्खननका क्रममा भेटिएको कलात्मक ढुङ्गा सुर्खेतको काँक्रे बिहारमा झैँ उही शैलीका कलात्मक ढुङ्गा भेटिएकाले यो सेनकालीन समयको भएको उहाँले जानकारी दिनुभयो ।

यसै क्षेत्रमा मणिमुकुन्द सेनको दरबारसमेत रहेकाले यस मन्दिरमा उनले पूजाआज गर्ने गरेको स्थानीय बताउँछन् । सोही समयको मन्दिर हुनसक्ने भन्दै यसलाई उस्तै शैलीमा पुनः निर्माण गर्नका लागि विभागले रु सात करोड ६९ लाख रकम विनियोजन गरेको गैँडाकोट–१३ का वडाध्यक्ष पदम पौडेलले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको बेल्डिहाबाट करिब साढे एक किलोमिटर दक्षिणतर्फ नारायणी नदीकिनारमा अवस्थित यस स्थानको पुनःनिर्माणको कामसमेत शुरु भइसकेको उहाँले बताउनुभयो ।

नदीकिनारमा अवस्थित कैलाश सन्यास आश्रम वरपर करिब तीन हजारको सङ्ख्यामा कलात्मक ढुङ्गा भेटिएका छन् । “उत्खनन गर्दा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा यहाँ शिवको भव्य मन्दिर रहेको पुष्टि हुन्छ”, उहाँले भन्नुभयो, “त्यहाँ भेटिएका वस्तु अंशको अधिकतम प्रयोग गर्ने योजनाका साथ पुराना कलात्मक ढुङ्गालाई सोही आकारमा नयाँ बनाउने काम शुरु भइसकेको छ ।” भग्नावशेष भेटिएको स्थानमा मणिमुकुन्द सेनकालीन मन्दिर निर्माण भएमा यस क्षेत्रकै मुहार फेरिने जनाइएको छ ।

चौधौँ शताब्दीतिर पाल्पामा मणिमुकुन्द सेनको शासनकाल रहेको इतिहासमा उल्लेख रहेको छ । स्थानीयले त्यहाँ पुरानै शैलीका मन्दिर निर्माण गराउन सरकार र पुरातत्व विभागसँग आग्रह गरेको आधारमा विभागले चासो देखाएर उत्खनन गरेको थियो । विभागले उत्खनन् गरेपश्चात् यस स्थानबाट निकालिएका सबै ढुङ्गामा नम्बर लगाएर राखिएको छ ।

उत्खननका क्रममा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, चक्र आकारको ठूलो ढुङ्गा, देवी देवताको मूर्ति र विभिन्न आकार प्रकारमा कुँदिएका कलात्मक ढुङ्गा भेटिएका छन् । उत्खनन गरिएको स्थललाई सामान्य रुपमा टिनको टहरा बनाएर सुरक्षित गरिएको छ । उत्खननपश्चात् निस्किएका कलात्मक ढुङ्गा भने बाहिरै खुला जमिनमा राखिदा लेउ पलाएर नचिनिने अवस्थामा पुगेका छन् ।

यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नै नास हुने हो कि भन्ने चिन्ता रहेको स्थानीय गोविन्दराज कोइरालाले बताउनुभयो । पुरातत्व विभागले अब उपरान्त यस स्थानको मौलिकता बिग्रिने गरी कहीँकतै केही पनि निर्माण नगर्नु भनेकाले आफूहरु अन्योलमा परेको उहाँको भनाइ छ । पुरानै शैलीको मन्दिर निर्माणका लागि बजेट विनियोजन भएर काम अगाडि बढेपछि पुनःनिर्माणले गति लिन सकेको छैन ।

“काम छिटो होस् भन्ने चाहान्छौँ तर अहिले लकडाउनका कारण कामदार घर गएकाले पुनःनिर्माणको काम अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यस क्षेत्रको प्रचारप्रसार र संरक्षण गर्न सरकारी तवरबाट नै पहल गरिनुपर्छ ।” ऐतिहासिक पुरातात्विक वस्तु रहेका अन्य स्थान देश विदेशमा समेत परिचित बन्न सफल भए पनि यस क्षेत्र प्रचारप्रसारकै अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । नारायणी नदी किनारमा नै यस क्षेत्र भएकाले नदीको कटान रोक्नका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख प्रदान गरेर नदीतर्फ फेन्सिङ वाल (आरसीसी वाल) निर्माण गरिएको छ ।

चार बिघा क्षेत्रफलमा फैलिएको यस ऐतिहासिक क्षेत्रका बारेमा थप प्रचारप्रसार आवश्यकता रहेको गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रयासले यसको प्रचारप्रसार गरेर देशव्यापी बनाउन गाह्रो भयो ।” सेनकालीन सभ्यता बोकेको यसस्थलको संरक्षणका लागि कैलाश सन्यास आश्रमका सन्तले योगदान पुर्याइरहेका छन् । धार्मिक शास्त्रअनुसार पञ्चपाण्डव गुप्तवास बस्दा धनुष लुकाएको ठाउँसमेत यही स्थानमा भएको स्थानीय बताउँछन् । ऐतिहासिक कैलाश सन्यास आश्रमको पुनः निर्माणसँगै प्रसारप्रसारपछि यस क्षेत्रकै मुहार फेरिनेमा स्थानीय आशावादी रहेका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै