बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • जापानमा दुई जनालाई मृत्युदण्ड
समाचार

जापानमा दुई जनालाई मृत्युदण्ड

टोकियो, १७ साउन । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।

जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको संवाददाताहरुलाई बताउनुभयो । मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो ।

जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए । गत वर्ष सन् २०१८ को जुलाईमा ओम शिनरिक्यो सम्प्रदायका पूर्व गुरु शोको आशाहारा समेतलाई मृत्युदण्ड दिइएको थियो । –एएफपी

चर्चामा

सम्बन्धित समाचार