बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • जनकपुरधाममा गङ्गालाल राष्ट्रिय हृदयकेन्द्रको शाखा
समाचार

जनकपुरधाममा गङ्गालाल राष्ट्रिय हृदयकेन्द्रको शाखा

उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्र जनकपुरधाम शाखाको आज औपचारिक रुपमा शुभारम्भ गर्नुभएको छ । शाखाले गत माघ २७ गतेदेखि जनकपुर अञ्चल अस्पताल परिसरमा बहिरङ्ग विभागमार्फत अनौपचारिक सेवा शुरु गरेको थियो । उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले सबैभन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले रोगीको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बहिरङ्ग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेकाले आगामी दिनमा यस शाखाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गङ्गालाल हृदयकेन्द्र शाखालाई समेत त्यससँग समन्वय गराएर अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरगञ्जमा समेत विशिष्ट सेवासहितको अस्पतालमा परिणत गर्नुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले हृदयकेन्द्रको लागि प्रदेशको क्षमताअनुसार आवश्यक रकमको व्यवस्था गरिएको बताउनुभयो । “जनकपुर अस्पताललाई केही समयपछि प्रादेशिक अस्पतालमा परिणत गरिनेछ”, उहाँले भन्नुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, कृषि राज्यमन्त्री योगेन्द्र यादव, जनकपुरधाम उप–महानगरका प्रमुख लालकिशोर साह, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नागेन्द्रप्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा प्रमोद यादव, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्मालगायतको उपस्थिति थियो ।

चर्चामा

सम्बन्धित समाचार