बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • ‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’
समाचार

‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’

सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत् व्यवस्थापनसम्बन्धी पूर्व तयारीको आवश्यकता औँल्याउनुभयो ।

पूर्वमन्त्री तथा सांसद प्रभु शाहले तराई र पहाडका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका कारण पीडित घरवार विहीनलाई कम्तीमा स्थायी टहराको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद ईन्दुकुमारी शर्माले प्रदेश नं–२ मा चुरे क्षेत्रको दोहनका कारण बाढी र डुबान झन झन बढ्दै गएको भन्दै “जरुरी सार्वजनिक महत्वको प्रस्ताव”माथि समर्थन गर्नुभयो ।
सांसद विमलप्रसाद श्रीवास्तवले पूर्व तयारी नभएका कारण कुलेश्वर र बल्खुलागतय काठमाडौँका विभिन्न स्थानमा आएको बाढी र डुबानबाट ठूलो क्षति भएको हुँदा आगामी दिनमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लगाइएको बाँध र तटबन्धका कारण तराई क्षेत्र डुबानमा परेको भन्दै समाधानका लागि कूटनीतिक पहल गर्नुपर्छ भन्नुभयो । सांसद सरिता गिरीले जलस्रोतको वैज्ञानिक व्यवस्थापन शहरी बसोवासको व्यवस्थापन गर्नुपर्ने बताउँदै प्रस्तावको समर्थन गर्नुभयो । सांसद शिवकुमार मण्डलले नदी नियन्त्रणको विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार