बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरु
समाचार

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरु

– कृष्ण न्यौपाने

राष्ट्रिय परिचयपत्र वितरणका लागि तनहुँ जिल्लामा दर्ता कार्य शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको तस्वीर खिचेर जिल्लामा सोमबारदेखि परिचयपत्र वितरणका लागि विवरण सङ्कलन कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको फिल्ड कार्यालयमा उपस्थित भएर मन्त्री चुमानले आफ्नो व्यक्तिगत विवरण, तस्वीर, हस्ताक्षर, आँैठाछापलगायतका विवरण भर्नुभएको छ । सोही अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको पनि विवरण दर्ता गरिएको छ ।

कार्यक्रममा मन्त्री चुमानले मुलुक आधुनिक प्रविधितर्फ अघि बढिरहेकाले पुराना सोच र शैलीलाई विस्थापित गर्न र मुलुकमा सुशासन र समृद्धि कायम गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पु¥याउने मन्त्री चुमानले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख वाग्ले र व्यास नगरपालिकाका प्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्रले सम्पूर्ण विवरण एकीकृत गर्न सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंठाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा स्थानीय तहसँगको समन्वयमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण सङ्कलन गरिनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । यही साउनदेखि प्रदेश नं १ को झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निमार्णमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

दश हजार नागरिकता वितरण

एक वर्षको अवधिमा दश हजारभन्दा बढी नागरिकता वितरण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ को अवधिमा तनहुँमा १० हजार २५ नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । वंशजको आधारमा १० हजार पाँच र वैवाहिक अङ्गिकृतको आधारमा २० वटा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा पाँच हजार ६७९ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

उक्त अवधिमा चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको छ । त्यस्तै ३८४ लाई नाबालक परिचयपत्र वितरण गरिएको छ । उक्त अवधिमा चार हजार ९०७ राहदानी वितरण गरिएको छ भने छ हजार १०५ राहदानी जिल्लाबाट सिफारिस र दुई हजार २१९ राहदानी दु्रत सेवाका लागि सिफारिस भएको छ । उक्त अवधिमा एक हजार २४७ आदिवासी/जनजाति प्रमाणित, ४७१ दलित प्रमाणित, तीन हजार ११९ पेन्सन सिफारिस र अन्य एक हजार १०४ प्रमाणित/सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

उक्त अवधिमा १४९ नयाँ संस्था दर्ता, ७२७ संस्था नवीकरण भएको छ भने १६२ हातहतियार नवीकरण र पाँच नामसारी भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै २४० जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण र छ जना शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ । कार्यालयमा निवेदनमार्फत दर्ता भएको ५२ र हेल्लो सरकारमार्फत ११ वटा गुनासो फछ्र्योट गरिएको छ । उक्त अवधिमा २५ पटक बजार अनुगमन र आठ पटक विभिन्न स्थानीय तहमा घुम्ती शिविर गरिएको छ ।

साढे तीन करोड राजश्व

कार्यालयले उक्त अवधिमा साढे तीन करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण, राहदानी दस्तुर, प्रशासनिक दण्ड जरिवाना, न्यायिक दण्ड जरिवानालगायतबाट रु तीन करोड ६१ लाख ६३ हजार ५०६ राजश्व सङ्कलन भएको छ । सबैभन्दा बढी राहदानी दस्तुरबाट रु तीन करोड २२ लाख ५७ हजार, न्यायिक दण्ड जरिवानाबाट रु २५ लाख ४२ हजार २७१, संस्था दर्ता तथा नवीकरणबाट रु ११ लाख ३४ हजार २८०, हातहतियार नविकरण/नामसारीबाट रु ८५ हजार ३५५, प्रशासनिक दण्ड जरिवानाबाट रु पाँच हजार र परीक्षा दस्तुरबाट रु एक लाख ३९ हजार ६०० सङ्कलन भएको छ । कार्यालयले उक्त अवधिमा ८६.५ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ । आव ०७५/७६ सम्म रु ६० लाख २० हजार ११३ रहेकोमा रु ५२ लाख सात हजार १९८ बेरुजु फछ्र्योट भएको छ ।

सेवाग्राहीमैत्री बनाउन प्रयास

कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रयास भएका छन् । प्रजिअ पण्डितका अनुसार कार्यालय परिसरभित्र सेवाग्राहीलाई स्वच्छ खानेपानीको व्यवस्था, निःशुल्क इन्टरनेटको सेवा, विश्रामस्थल र प्रतिक्षालयको व्यवस्था मिलाइएको छ । महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर प्रशासन हाताभित्रनै स्तनपान कक्ष निर्माण गरिएको छ ।सेवाप्रवाहलाई महिलामैत्री बनाउनका लागि कार्यालय परिसरभित्रै स्तनपान कक्षको व्यवस्था गरिएको प्रजिअ पण्डितले बताउनुभयो । “कार्यालयमा काम लिएर आउने महिलासँगै स्तनपान गर्ने बच्चा हुने भएकाले सहजताका लागि स्तनपान कक्षको व्यवस्था मिलाएका छौँ ।” महिला सेवाग्राहीको साथमा आउने स–साना बच्चालाई झोलुङ्गेको व्यवस्था गरिएको छ भने कार्यालय परिसरमा बिचौलियालाई प्रवेश निषेध गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै