बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफलः मन्त्री थापा
समाचार

मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफलः मन्त्री थापा

काठमाडौँ, ७ साउनः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको हो । “देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृह मन्त्रालय लागिरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन नेत्रविक्रम चन्द समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको स्पष्ट पार्नुभयो । त्यस्तो हिंसात्मक कृयाकलाप नियन्त्रण गर्न हालसम्म ५०० भन्दा बढी सो समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको गरिएको उहाँको भनाइ थियो । मन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले उक्त समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको उल्लेख गर्नुभयो । “विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई आएको छैन”, गृहमन्त्री थापाले भन्नुभयो ।

देशको राष्ट्रिय एकतालाई कायम राख्न सिके राउतको समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याउन सफल भएको उहाँको भनाइ थियो । गृहमन्त्री थापाले सीमा क्षेत्रमा हुने सुनलगायत अन्य सामानको तस्करी, मानव बेचबिखनलगायतका विकराल समस्या समाधानमा सरकार सफल रहेको स्पष्ट पार्नुभयो । निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बताउँदै उहाँले गृह प्रशासन, नागरिक समाज र पत्रकार मिलेर नै निर्मलाका हत्यारालाई खोज्नुपर्ने बताउनुभयो । हत्यारा बलात्कारीलाई कानूनी कारवाहीमा ल्याउन नेपाल प्रहरी ९५ प्रतिशत सफल भए पनि केही घटना अनुसन्धानको चरणमा रहेको उहाँको भनाइ थियो ।

विकासको नाममा ठेक्कापट्टा पारेर समयमा काम नसकी आर्थिक अपराध गर्ने ठेकेदारलाई कारवाही गरिने उहाँको भनाइ थियो । “भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग सहकार्य गरेर समयमै काम नगर्र्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले अनुसन्धानको प्रारम्भमा त्रुटि भएका कारण निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकिएको स्वीकार गर्दै भन्नुभयो, “निर्मला हत्याकाण्डबारे छानबिन भइरहेको छ ।” उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ऐनको विधेयकबारे छलफल भइरहेको बताउँदै दुवै सङ्गठनमा आ–आफ्नो क्षेत्राधिकार रहेको उल्लेख गर्नुभयो । सीमित स्रोत र साधन भएर पनि प्रहरीले मुलुकको शान्तिसुरक्षामा उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

उक्त मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७४ मा ७८ बुँदा कार्यान्वयन गरिसकेको बताएको छ । सोही मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले गत आर्थिक वर्षमा आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गरी केन्द्र र प्रदेशबीच सुरक्षा समन्वय मिलाइएको, विकास आयोजना सम्पन्न गर्न सहजीकरण गरिएको, अपराध नियन्त्रण कार्यमा समुदायको सहभागिता गरिएको, विपद्को घटना भएको ७२ घण्टाभित्र राहत उपलब्ध गराइएको बताउनुभयो । यस्तै सार्र्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरिएको, कारागारको आन्तरिक व्यवस्थापनलाई अझ चुस्त तथा प्रभावकारी बनाउन लागिएको, सुन तस्करीको आपराधिक सञ्जाल तोडिएको, मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । –रासस

चर्चामा

सम्बन्धित समाचार