सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • अन्न भण्डारमै चामल आयात : हराउँदै खाद्य उद्योग
समाचार

अन्न भण्डारमै चामल आयात : हराउँदै खाद्य उद्योग

– काशीराम शर्मा
कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई/चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायी बताउँछन् ।
विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कलाई मात्रै हेर्ने हो भने नेपालगञ्ज भन्सार नाका हुँदै रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठूलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौँ मूल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै वस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ ।
पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ । गत आर्थिक वर्षमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनुभयो । उक्त परिमाणको चामल आयात गर्दा रु छ अर्ब ४७ करोड रकम नेपालगञ्ज नाकाबाट मात्र बाहिरिँदा सरकारको खातामा रु पाँच करोड भन्सार राजश्व सङ्कलन भएको छ । नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ता बताउँछन् ।
बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठूलो मात्राको धानकै कारण ठूलो लगानीमा सञ्चालनमा रहेका चामल मिल पनि अहिले बन्द भएका छन् । धान उत्पादन घटेसँगै मिल बन्द भएको व्यवसायी बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् । नेपालगञ्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउनुहुन्छ ।
धान उत्पादनसँगै बाँके र बर्दियामा ठूलो परिमाणमा तोरी उत्पादन हुनेहुँदा यहाँबाट तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउथ्यो । हाल दाङको तोरी नेपालगञ्ज आउन छाडिसकेको छ । बाँके र बर्दियामा रहेका धेरैजसो तेल मिल पनि बन्द भइसकेका छन् भने बाँकी बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै खाद्यवस्तु ठूलो परिणाममा किनबेच हुन्थ्यो ।
“यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ । नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घ्यु उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घ्यु निर्यात हुने गरेको थियो । बाँकेमा सञ्चालित केएल दुगडले तेल मिल चलाउनकै लागि भारतको राजस्थानबाट तोरी आयात गरिरहेको छ ।
खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगञ्ज क्षेत्र अहिले परनिर्भर भए पनि जानकी गाउँपालिका भने औद्योगिक केन्द्रका रूपमा विकसित भइरहेको छ । यहाँका साना, ठूला र मझौला गरी दर्जन बढी उद्योग सञ्चालनमा आइसकेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाही बताउनुहुन्छ । बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समय नयाँ उद्योग खुल्नेक्रम तीव्ररूपमा बढिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै