शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण
समाचार

दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुको संसदीय टोलीले बाढी प्रभावित सिरहाका विभिन्न स्थानको निरीक्षण गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीले हालैको अविरल वर्षा र बाढीबाट प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, कल्याणपुर नगरपालिकाको इटारी प्रसाही, कर्जन्हा नगरपालिकाका बाढी प्रभावित बस्तीको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा संसदीय टोलीका सदस्यहरुले बाढी पीडितहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । बाढी पीडितहरुले वर्षा र बाढीले वर्षेनी आफूहरु यस्तो समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्या दिगो रुपमा समाधानको पहल गरिदिन आग्रह गरेका थिए । यस्तै सो टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतसँग बाढीले पुर्याएको क्षति र उद्धार तथा राहत वितरणको अवस्था बारे जानकारी लिएको थियो ।

सो टोलीमा प्रतिनिधिसभा सदस्यहरु राजकिशोर यादव, डिला सङ्ग्रौला, यशोदा सुवेदी गुरुङ लगायतको सहभागिता थियो । टोलीले सिरहासहित सप्तरी, सुनसरी, मोरङ र उदयपुर गरी पाँच जिल्लाका बाढी प्रभावित स्थानको अनुगमन गर्नेछ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन बुझाइने समितिका सदस्य तथा सांसद बडूले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार