बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • संसदीय टोली बाढी प्रभावित क्षेत्रमा
समाचार

संसदीय टोली बाढी प्रभावित क्षेत्रमा

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले प्रदेश नं २ को बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण शुरु गरेको छ । टोलीले पहिलो दिन शनिबार जनकपुरधाम उप–महानगरपालिका–१ को मुसहरी र ७ का बाढी पीडितलाई भेटेर अवस्था बुझेको छ । बाढी पीडितलाई टोलीले राज्यका तर्फबाट राहत सामग्री समेत वितरण गरेको छ । समितिले सांसदहरुको दुई वटा टोली बनाएर प्रदेश नं २ को आठै जिल्लाको बाढीबाट भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गर्न लागेको हो ।

एउटा टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा ,पर्साको निरीक्षण शुरु गरेको छ भने अर्को टोलीले सिरहा र सप्तरीको जिल्लाको निरीक्षण गर्दैछ । टोलीमा राजेन्द्र महतो, रामसहाय प्रसाद यादव, देवेन्द्र प्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, छक्कबहादुर लामा, बृजेशकुमार गुप्ता हुनुहुन्छ । समितिले प्रदेश दुईको आठ वटै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने छ । बाढीले बगाएर र डुबेर प्रदेशका आठै जिल्लामा हालसम्म मृत्यु भएका ३७ जनामध्ये २३ जना बालबालिका छन् ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् । यसैगरी तीन हजार ५ सय ७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १ सय ४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै