बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा
समाचार

आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा

– पेमा लामा

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा गइसके पनि छपाइसमेत नहुनु र अर्कोतिर समितिले पूर्णता नपाउँदा काममा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले समितिले पूर्णता नपाएका कारण काम गर्न नसकेको बताउनुभयो ।

“म आएर एक पटक बैठक बस्यौँ, पदीय हैसियतका कारण बोलाउँदा नगर/गाउँपालिका प्रमुख नै उपस्थित हुनुभएन, जसका कारण समितिले पूर्णता नपाएपछि कारण काम गर्न गाह्रो भइरहेको छ ।” स्थानीय तहहरूले गर्नुपर्ने विपद् व्यवस्थापनका लागि के–कति बजेट छुट्याएको छ भन्ने जानकारी माग गर्दासमेत उपलब्ध नै नगराएको उहाँले बताउनुभयो । समितिमा स्थानीय तहका मेयर/अध्यक्ष, सरकारी कार्यालयका प्रतिनिधि सदस्य र जिल्ला समन्वय समितिका समन्वय अधिकारी सदस्यसचिव रहने व्यवस्था छ । तर पदीय जिम्मेवारीमा तलमाथि भएका कारण बोलाउँदा बैठकमा समेत अनुपस्थित भएपछि काम गर्न समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार समितिमा स्रोतसाधन नै उपलब्ध छैन ।

अहिले सूचना सङ्कलन र सम्प्रेषणका लागि जिल्लास्थित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र रहेको छ । चार÷पाँच जना कार्यरत सो केन्द्रमा प्रहरी (सुरक्षा निकाय)द्वारा गरिएका कामको विवरणबाहेक स्थानीयस्तरमा विपद् व्यवस्थापन समितिले गरेका कुनै पनि गतिविधिको विवरण प्राप्त नभएको बताइएको छ । केन्द्रका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले असार ४ गते बसेको बैठकले जिल्ला प्रकोप पूर्वतयारी तथा प्रतिकार्ययोजना तयार गरेको जनाए पनि अहिलेसम्म त्यसको प्रकाशन गर्ने र सम्बन्धित निकायसम्म कार्यान्वयनका लागि पठाउने काम भएको छैन ।

सो योजना पुस्तिका छपाइका लागि स्रोतको व्यवस्था नहुँदा छाप्ने काम टुङ्गो नलागेको सूचना व्यवस्थापन अधिकृत घिमिरले बताउनुभयो । “अहिले तयार गरी छाप्नका लागि प्रेसमा पठाउने काम भएको छ”, उहाँले भन्नुभयो, “तर त्यसका लागि छपाइ खर्चको व्यवस्थापन हुनसकेको छैन ।” उहाँका अनुसार जिल्लाको १३ स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिकाले स्थानीय तह विपद् व्यवस्थापन समिति गठन गरेको भए पनि आफ्नो स्थानीयस्तरमा कहाँ के भयो भन्नेसम्म पनि सूचना दिएको छैन ।

वर्षाका कारण रोशीमा क्षति

अविरल वर्षाका कारण बाढीपहिरो गएर जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी भौतिक क्षतिको हिसाबले रोशी गाउँपालिमा भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रोशी गाउँपालिकामा असार २७ गते नजिकैको भीमेश्वर माध्यमिक विद्यालयको ‘कम्पाउण्ड’ पर्खाल भत्केर घर पुरिँदा एक जनाको निधन भएको थियो । घर पूर्णरूपमा क्षति भएको छ । सोही ठाउँमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर स्थानीय रुद्रलाल श्रेष्ठको घर बगाएर पूर्णरूपमा क्षति भएको छ । मानवीय क्षति नभए पनि एक हल गोरु, दुई भैँसी र सात खसीबाख्रा क्षति भएको केन्द्रले जनाएको छ ।

रोशी गाउँपालिका भएर चल्ने विपी राजमार्गमा सञ्चालित क्रसर र ढुङ्गाखानीका कारण सडकमाथिबाट पहिरो खस्दा र खहरेखोलाबाट गएको बाढीका कारण राजगमार्ग दुई दिनसम्म अवरुद्ध भएको र स्थानीय सरकार, सुरक्षा निकायको पलहमा दुई दिनपछि एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो । त्यस्तै असार २७ गतेकै अविरल वर्षाका कारण बनेपा नगरपालिका–३ चुनातालमा घरमाथिबाट गएको पहिरोका कारण दुईको निधन हुनुका साथै दुई घाइते भएका थिए । घर पूर्णरूपमा क्षति भएको छ ।

त्यस्तै जमीन भासिएर सोही ठाउँका सत्यनारायण दाहालको आशा पोल्ट्री फार्मको टहरा पूर्णरूपमा क्षति भई एक हजार कुखुरा नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ । यता धुलिखेल नगरपालिका–११ मा नरेन्द्र ढकालको होटलमाथिबाट पहिरो गई फलामको ट्रष्ट केही भागमा क्षति हुँदा रु ३० हजार बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ । केन्द्रसँगको विवरणमा त्यति उल्लेख नरहेको भए पनि जिल्लाको चौरीदेउराली गाउँपालिकाको वडा नं ४ र ५ का गरी १५ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा समिति सक्रिय

अधिकांश स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरेर काम गरिरहेको भए पनि त्यसको विवरण भने जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग उपलब्ध नभएको पाइएको छ । तर, स्थानीयस्तरमा भने समिति गठनदेखि सञ्चालन कोषसमेत गठन गरी काम गरिरहेको स्थानीय तहहरुले जनाएका छन् । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नगरपालिकास्तरमा समिति गठन गरी रु ३० लाख बराबरको कोष खडा गरी काम भइरहेको बताउनुभयो । नगरपालिकाले ऐनसमेत निर्माण गरी काम गरिरहेको र सबै वडामा विपद् व्यवस्थापन समितिसमेत गठन गरेर काम गरिरहेको बताउनुभयो ।

पनौती नगरपालिकाले समिति गठनसँगै विपद् सूचना केन्द्रसमेत स्थापना गरी काम गरिरहेको छ । गत वर्ष नै विपद् सञ्चालन कोषको नीतिसमेत तयार गरी त्यसमार्फत विवरण सङ्कलन गरी काम गरिरहेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार केही दिनअघि भएको अविरल वर्षाका कारण भूकम्पपश्चात निर्माण गरिएका २०÷२५ घरहरु क्षति भएको र दुई भैँसीसमेत मरेका कारण त्यसको प्रहरी मुचुल्कासँगै विवरण सङ्कलन गर्ने काम भइरहेको छ । पनौती नगरपालिकाले रु २५ लाखको कोष स्थापना गरेको जनाएको छ ।

नमोबुद्ध नगरपालिकाले पनि समिति गठन गरी स्थानीयस्तरमा विपत्मा परेकालाई सहयोग र आवश्यक व्यवस्थापनका लागि प्रयत्न गरिरहेको छ । अहिले अविरल वर्षाका कारण धेरैजसो सडक सञ्जालमा क्षति भएको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । जिल्लाको विकट महाभारत गाउँपालिकामा भने स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी रु २० लाखको कोष स्थापना भए पनि बैठक भने बस्न नसकेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । केही दिनअघि भएको अविरल वर्षाका कारण पुगेको क्षतिको विवरण भने वडास्तरबाट सङ्कलन गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

खानीखोला गाउँपालिकामा विपद् व्यवस्थापन समितिबाट क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कृष्ण खुलालले बताउनुभयो । खानीखोला गाउँपालिकामा मानवीय क्षति नभए पनि पाँच वडामा गरी ७५ घर भत्केको बताउनुभयो । “यो वर्ष हाम्रा लागि दोस्रो भूकम्पजस्तै भयो”, उहाँले भन्नुभयो, “अविरल वर्षाले विद्यालय भवनसँगै अधिकांश सडकमा क्षति पु¥याएको छ ।” बनेपा नगरपालिकालगायत केही स्थानीय तहमा भने स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्न बाँकी रहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार