आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • बाख्रापालनमा प्रोत्साहनको खाँचो
अर्थ/वाणिज्य

बाख्रापालनमा प्रोत्साहनको खाँचो

-रञ्जिता अधिकारी देउखुरी, २१ मङ्सिरः लमही नगरपालिका- १ सुन्डवरीका गीताकुमारी चौधरीले एक वर्ष अघिदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले ‘चिसापानी बाख्रा तथा कुखुरा फर्म’ का नामबाट दुई व्यवस्थित व्यबस्थित खोरबाट बाख्रा पाल्न सुरु गर्नुभएको हो । एउटा खोरमा माउ र अर्कामा साना पाठापाठी बस्छन् । उहाँले स्थानीयवासी दुई महिलालाई रोजगारी दिनुभएको छ । फर्ममा अहिले २० माउ बाख्रा, १८ खसी र १२ पाठापाठी छन् ।

रु सात लाखको लगानीबाट सुरु गरिएको व्यवसाय अहिले रु १५ लाखको कारोबार गर्छ । गत बडादशैँमा १० बाख्रा बिक्री गरेर उहाँले रु एक लाख ८६ हजार आम्दानी गर्नुभयो । “सहकारीले बाख्रा खरिद गर्छ, बिक्रीको समस्या छैन ”, उहाँले भन्नुभयो, “नजिकै सामुदायिक वन छ, बाख्रालाई त्यही वनमा चराउने गर्छौँ ।” खाली समयको सदुपयोग र आम्दानी हुने भएकाले आफू बाख्रापालनतिर आकर्षित भएको चौधरीको भनाइ छ ।

यसरी व्यावसायिक बाख्रापालनले दाङका किसानको आम्दानीमा वृद्धि हुँदै गएको छ । कम लगानी र खर्चमा पनि प्रशस्त आम्दानी गर्न सकिने भएपछि जिल्लामा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसानले बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । छोटो समयमा धेरै लगानी नगरी प्रशस्त आम्दानी दिने भएकाले यो व्यवसायतर्फ किसानको आकर्षण बढेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १ निवासी सुमन थापाले तीन वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्नुभएको छ । “अर्काका भूमिमा दुःख गर्नुभन्दा आफ्नो माटोमा पसिना बगाउँदा आनन्द आएको छ”, उहाँले भन्नुभयो । कष्ट सहेर काम गर्दा विदेशमा सोचेजस्तो सफलता हात नपरेको र राम्रो कमाइ गरेकाहरू पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षित भएका छन् ।

चार वर्ष मलेसिया बस्दा पनि केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरिएको थापा बताउनुहुन्छ । आफ्नो गाउँठाउँमा केही गरौंँ भन्ने सोचाइ आएपछि बाख्रापालनमा लागेको बताउँदै थापाले भन्नुभयो, “रु एक लाखको लगानीमा खोर बनाएर चार वटा पाठीबाट शुरु गरिएको व्यवसायमा अहिले २५ वटा बच्चा दिने माउ, २० वटा पाठापाठी र दुई वटा बोका छन् । एउटा माउले वर्षमा दुई पटक बच्चा दिन्छ ।

तिनले एक पटकमा दुइटासम्म दिने गरेका छन् । नजिकै सामुदायिक वन छ, घर वरिपरि भुइँ घाँस, डाले घाँस लगाएको भएर घाँसको समस्या छैन ।” खर्च कटाएर वार्षिक रु पाँच लाख उहाँको आम्दानी हुने गर्छ । उहाँ थप्नुहुन्छ, “२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरू सबै जिल्लाभित्र बिक्री भइरहेको छ ।

दुई महिनाका पाठापाठी रु दश हजारका दरले बिक्री हुने गरेका छन् ।” सबै स्थानीय (खरी, जमुनापारी)जातका छन् । पाठापाठी ठूला हुन नपाई सानैमा बिक्री हुने हुँदा पाल्न सजिलो भएको छ । यसपालि घोराही उपमहानगरपालिका कृषि शाखाले बोयर जातको बोका दिएको छ । वणर्शङ्कर पाठापाठी भयो भने आम्दानी राम्रो हुन्छ कि भन्ने थापालाई लागेको छ ।

शान्तिनगर गाउँपालिका -३ साउनेपानीकी जयकुमारी डाङीले पनि चार वर्षदेखि ‘शान्तिनगर बोयर बाख्रा पालन फर्म’ दर्ता गरेर बाख्रापालन गर्नुभएको छ । उहाँका घरछेउमा तीन बाख्राको खोर र खोरभित्र तरेलीतरेलीका बाख्रा छन् । तिनमा जमुनापारी र बोयर बाख्रा छन् । खसी, बोकाको एउटा, माउ बाख्राको अलग र साना पाठापाठीका लागि अलग खोर छन् । चार माउ बाख्रा र एक बोकाबाट बाख्रा पाल्न सुरु गर्नुभएका डाङीका खोरमा अहिले ३५ माउ बाख्रा, एक सय पाठापाठी र बोयर बोका छन् । “१७ कट्ठा जग्गा भाडामा लिएर डालेघाँस, किम्बु, नेपियर जातका घाँस लगाएकाले घाँसको समस्या छैन”, उहाँले भन्नुभयो ।

उहाँले गत असोजमा रु दुई लाख ६० हजारमा बोयरका पाठापाठी प्युठानमा बिक्री गर्नुभयो ।” “तीन महिनाका पाठापाठी बिक्री गर्ने गरेको र घरमै ग्राहक आउने गरेकाले बिक्रीका लागि कुनै समस्या छैन, जिल्लाभित्र र बाहिर पनि बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा हुनुहुन्छ र उहाँलाई घरमा बोलाएर सँंगसँगै काम गर्ने उहाँको सोचाइ छ ।

घोराही उपमहानगरपालिका कृषि शाखामा २५० बाख्राका फर्म दर्ता भएको उपमहानगर, पशु विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिनुभयो । गत वर्ष नगरका किसानलाई १७९ माउ बाख्रा वितरण गरियो । पशु प्रबद्र्धन कार्यक्रमअन्तर्गत नगरका ५० किसानलाई बङ्गुर र घोराही -१ का किसानलाई बाख्रा प्रदान गरिएको थियो ।

घोराही उपमहानगर र सङ्घीय सरकारबाट रु १९ लाख ९२ हजार बराबरको बाख्रा प्रदान गरिएको थियो । यस वर्ष निःशुल्क पिपिआर खोप लगाउने तयारी गरिएको र दुई किसानलाई खोर सुधारअन्तर्गत सहयोग गरिने उहाँले बताउनुभयो । घोराही- १ पहाडी क्षेत्रमा पर्ने र त्यहाँ प्रशस्त वनजङ्गल रहेकाले किसानले खरी जातका बाख्रा पाल्ने गरेका छन् । त्यहाँका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न ‘बाख्रा पकेट क्षेत्र’ घोषणा गरेर कार्यक्रम अगाडि बढाइएको छ ।

लमही नगरपालिका पशुसेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले लमहीमा ३० बाख्रा फर्म दर्ता भएको बताउनुभयो । बाख्रापालक किसानले वर्षमा रु १२ देखि १५ लाखसम्म आम्दानी गरेका छन् । एउटा बाख्राले वर्षमा कम्तीमा पनि रु ५० हजार आम्दानी दिने गरेको छ । प्रदेशको सरकारको ‘बाख्रा मिसन कार्यक्रम’ अन्तर्गत लमही – ३,६,८ मा प्रस्ताव आह्वान गरिएको छ । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत बोयर जातको बोका वितरण गरिएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । बाख्रापालनका लागि पाठापाठी किन्ने गरेका कारण धेरै साना बच्चा बिक्री हुने गरेको छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेल किसानका पक्षमा स्थानीय तहले सही ढङ्गले भूमिका खेल्न नसकेको आरोप लगाउनुहुन्छ । तरकारी तथा कृषि क्षेत्रमा केही सम्बोधन गर्न खोजिए पनि स्थानीय सरकारले पशुपालक व्यवसायीका पक्षमा उदारता देखाउन नसकेको उहाँको गुनासो छ । कृषिको पहुँच, बजारीकरण र कृषकलाई बारम्बार अभिमुखीकरणमा ध्यान दिन राज्यका तीनै तहले कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

लुम्बिनी प्रदेश पशुपालक सङ्घ संयोजक प्रेम सुवेदीले पनि कृषकलाई कुनै पनि निकायले हौसला दिन नसकेको आरोप लगाउनुभयो । कुनै विपद्, प्रकोप भएमा कृषकले अस्वाभाविक क्षति व्यहोर्न बाध्य हुँदा पनि तिनको पीडामा मलम लगाउने काम हुन नसकेकामा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “किसान कहिल्यै सुत्दैन र सुतेको पनि छैन, दिनरात काम गर्छ, त्यसैले सबैले खान पाएका छन् । जुन देशमा किसानको सम्मान हुँदैन, त्यस देशको विकास हुँदैन । हरेक उपजसँग किसान जोडिन्छ तर त्यही किसान उपेक्षामा छ ।” पशु महासङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सेढाईँले २०७१ वैशाख १५ गते चितवनबाट थालनी भएको संस्थाले गति लिँदै गएको बताउँदै तीनै तहका सरकारले बाख्रापालक किसानका माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र प्रमुख डा वेदबहादुर केसीले जिल्लामा बाख्राको मासु अन्य देशबाट आयात विस्थापन गर्दै अघि बढ्ने योजना बनाउन, मासु भण्डारण गर्नका शीतभण्डार व्यवस्था गर्न, बाख्रापालनबाट रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्ने लक्ष्यका साथ अघि बढ्न किसानलाई आग्रह गर्नुभयो । “जिल्लालाई बाख्रा उत्पादनमा आत्मनिर्भर बनाए मात्रै स्थानीयस्तरमै रोजगार सिर्जना हुन्छ”, उहाँले भन्नुभयो “दाङमा कुखुराबाहेक अरू पशु स्रोत केन्द्रका रूपमा जोड दिने गरी सबै बाख्रापालक कृषक आएमा कार्यालयका तर्फबाट नीतिगत पहल हुने छ ।”

व्यावसायिक बाख्रापालक कृषकका लागि प्रदेश सरकारले दिने सुलभ कर्जामा रु एक करोडसम्म बढीमा पाँच प्रतिशतमा ब्याज सहजीकरण गर्न सघाउने गरेको छ । जिल्लामा गत वर्ष व्यावसायिक कृषकलाई रु १६ करोड सहुलियत कर्जा स्वीकृत भएको छ । यस वर्ष बाख्रा, पशुचौपायाका लागि रु एक लाख ३४ हजार पिपिआर खोप आउने र प्रभावित क्षेत्रलाई प्राथमिकता दिँदै अभियान चलाइने जनाइएको छ ।

तुलसीपुर पशु सेवा शाखा प्रमुख डा मनोज वलीका अनुसार तुलसीपुरमा २० व्यावसायिक फर्म दर्ता गरेर किसान बाख्रापालनमा लागेका छन् । “बाख्रालाई पिपिआर खोप र अन्य स्वास्थ्योपचारमा उपमहानगरपालिकाले सहयोग गर्ने गरेको छ”, उहाँले भन्नुभयो । उपमहानगरपालिकाका खाद्रे, राम्री, भट्टे, बल्ले र फूलबारीमा व्यावसायिक रुपमा किसानले बाख्रापालन गरेका छन् ।

वडा नं १ बल्लेका चार समूहलाई बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरेर ससर्त अनुदान दिने कार्यक्रम रहेको जनाइएको छ । पालिकाहरूमा बाख्रापालक कृषक सङ्गठित भइरहेको हुँदा अबका दिनमा अधिकतम लाभ लिनका लागि पालिका तथा कृषि सरोकार कार्यालयमा स्वीकृत कार्यक्रम र योजनाका बारेमा चासो राख्न उहाँले आग्रह गर्नुभयो ।

व्यावसायिक बाख्रापालक महासङ्घका संस्थापक अध्यक्ष खुशल घिमिरेका अनुसार दाङका १० वटै पालिकामा वडास्तरीय बाख्रापालक व्यवसायीको तदर्थ समिति गठन गरिएको छ । चाडबाडमा मात्रै नभएर सधैँ बाख्रा बिक्रीका लागि स्थानीय तहले वातावरण मिलाएर किसानलाई सहयोग गर्नुपर्ने उहाँको माग छ । दाङ जिल्ला व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम अधिवेशनले दीपेन्द्र वलीका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । सोका उपाध्यक्षमा रामबहादुर मल्ल, सचिवमा मोहनकुमार चौधरी, सहसचिवमा निर्मला डिसी र कोषाध्यक्षमा गौरीकला रोका रहनुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार