आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • भारी मत अन्तरले बिजय भए केपी ओली
Breaking News

भारी मत अन्तरले बिजय भए केपी ओली

काठमाडौं । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।

मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो ।

कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।

तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।

अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि पर्नुभएको छ । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार