बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • अठार वर्षपछि बन्यो तनहुँमा शहीद नेपाली छात्रावास
समाचार

अठार वर्षपछि बन्यो तनहुँमा शहीद नेपाली छात्रावास

तनहुँको व्यासनगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । विसं २०५८ मा जग खन्न शुरु गरिएको उक्त छात्रावास भवनको यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल पर्नुभएका चन्द्र नेपालीलाई जेलबाट निकालेर राणाहरुले हत्या गरेपछि उहाँको संस्मरणमा छात्रावास निर्माण शुरु गरिएको शहीद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष दोबाटे विश्वकर्माले जानकारी दिनुभयो । “छात्रावास भवनको निर्माणकार्य थालिए पनि आर्थिक अभावका कारण लामो अवधि बिताउनुपरेको थियो”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “ढिलै भए पनि शहीदको सपनालाई साकार गर्न सकिएको छ ।”

क्याम्पसको साढे दुई रोपनी क्षेत्रफल जग्गामा करीब रु ७० लाखको लागतमा १५ कोठे भवन निर्माण गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । सोही क्याम्पसमा अध्ययनरत २० दलित, जनजाति र अभिभावक नभएका छात्रालाई मात्रै छात्रावासको व्यवस्था मिलाइएको छ ।

छात्रावास भवन निर्माणका लागि तत्कालीन भौतिक आवास मन्त्रालयअन्तर्गतको साना शहरी विकास, जिल्ला समन्वय समिति, व्यासनगरपालिका, सांसद कोष, राष्ट्रिय दलित आयोगलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेका थिए । अध्ययनमा लगनशील भएका, निम्न आय भएका, ग्रामीण भेगबाट पढ्न आएका, अभिभावक संरक्षकत्व नभएका छात्रालाई प्राथमिकतामा राखेर छात्रावासको प्रबन्ध मिलाइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।

उनीहरुलाई खाना बनाएर खुवाउनका लागि एक कर्मचारीलाई छुट्टै तलब दिएर राखिएको छ । क्याम्पस प्रमुख हड्खलेले भन्नुभयो, “गाउँ सेवा कोष, भारतीय राजदूतावास, विश्वविद्यालय अनुदान आयोग, अन्य विभिन्न सङ्घसंस्थालगायतबाट प्राप्त सहयोगबाट छात्रावास सञ्चालनमा सहज भएको छ ।”

छात्रावास ३० जना क्षमताको भए पनि आन्तरिक व्यवस्थापन बाँकी रहेका कारण अहिले एउटा कोठामा दुई÷दुईका दरले २० छात्रा राखिएको छ । छात्रावासको आन्तरिक व्यवस्थापन बत्ती, पानी, शौचालय निर्माणपछि अन्य १० छात्रालाई पनि व्यवस्था मिलाइने होस्टल इन्चार्ज कल्पना लम्सालले जानकारी दिनुभयो ।

छात्रावासमा बिजुली, पानी इन्टरनेटसमेतको मासिक रु एक हजार तिर्ने व्यवस्था मिलाइएको छ । होस्टेलकी इन्चार्ज लम्सालले भन्नुभयो, “खानाका लागि उनीहरुले दाल, भात र तरकारी गरी महीनाभरि भएको खर्चमा प्रतिव्यक्ति भाग लगाएर तिर्ने गरेका छन्, मासिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म खर्च गर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै