मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • गाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा
सूचना/प्रबिधि

गाउँमा बिजुली बलेपछि दियालोबाट छुटकारा

उदयपुर, १९ कात्तिकः उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन् ।

यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।”

त्रियुगा नगपालिका र सो वडा कार्यालयको रु ३० लाखभन्दा बढीको लगाानी र स्थानीयवासीको श्रमदानबाट साउनेको निपानेमा पहिलोपटक बिजुली पुर्याउन सफल भइएको वडा नं १४ का अध्यक्ष कुरुङ राईले बताउनुभयो । दश वर्षदेखि निपानेमा बिजुली पुर्याउने प्रयासपछि बल्ल यसपटकको लक्ष्मीपूजाका दिन बिजुली बल्न सफल भइएको वडाध्यक्ष राईको भनाइ छ ।

त्रियुगा नगरपालिकाभरि सबैतिर बिजुली यसअघि नै बलेर झलमल्ल भए पनि आफूहरु लामो समयदेखि गाउँमा टुकी बालेर बस्न बाध्य हुनुपरेको बेलामा बल्ल यसपटक बिजुली बल्दा आफूहरु खुशी भएको मगरले बताउनुभयो । गाउँमा पहिलोपटक बिजुली बाल्न पाउँदा अहिले आफूहरु साह्रै खुशी भएको र विकास भनेको यस्तो हुन्छ भन्ने कुरा अनुभूति गरेको निपानेका गङ्गा मगरले बताउनुभयो ।

लक्ष्मीपूजाका दिनदेखि गाउँमा बिजुली बलेपछि निपानेगाउँका १२० घरपरिवार हर्षित बन्न पुगेको स्थानीयवासी बताउँछन् ।
जिल्ला सदरमुकाम गाईघाटबाट २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित जङ्गलभित्रको दुर्गम निपानेगाउँमा यसवर्ष लक्ष्मीपूजाको दिनदेखि बिजुली बल्न सुरु गरेपछि अहिले सो क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै