शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • इरानी राष्ट्रपति भन्छन्, अमेरिकासँग वार्ता गर्न तयार छौँ
समाचार

इरानी राष्ट्रपति भन्छन्, अमेरिकासँग वार्ता गर्न तयार छौँ

इरान, ३० असारः इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । उहाँले भन्नुभयो– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ । हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अरुलाई होच्याउने काम छोड्नुपर्छ र हामीमाथि लगाइएका नाकाबन्दीहरु सबै खारेज हुनुपर्छ– राष्ट्रपति रौहानीले आइतबार जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनुभएको उहाँलाई उद्धृत गर्दै इरानी समाचार समिति मेहर न्युज एजेन्सीले जनाएको छ । सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरुको सो प्रतिक्रियापछि आइतबारै इरानी राष्ट्रपति रौहानीको सो भनाई बाहिर आएको छ । उहाँले यसअघि जस्तै आइतबार पनि इरान सधैँ वार्ताको पक्षमा रहेको धारणा राख्नुभएको हो । गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा तोडेको थियो । सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो ।

अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो । यसैकारण गएका केही महिनायता अमेरिका र इरानबीचको विबाद झन बढ्दै गएको छ । इरानमाथि युरोपेली राष्ट्रहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन् । यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ । इरानको यो वार्ताप्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार