बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजिनक गर्न केही समय लाग्ने
अन्तराष्ट्रिय

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजिनक गर्न केही समय लाग्ने

वासिङ्टन, कार्तिक ६ – ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ । राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ । अर्को वर्ष डिसेम्बर १५ सम्म मा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० बर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सन् २०१८ मापूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू सार्वजनिक गरेपनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो । ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय संग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ ।

राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिकीकरणमा ढिलाइ “सैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन आदिका कारणले भएको बताउँनु भएको छ । छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक “गहिरो राष्ट्रिय त्रासदी” थियो जुन “अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ ।

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो । तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको” निष्कर्ष निकालेको थियो । अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेखहरू “जनतालाई पूर्णरूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ । (एएफपी)

चर्चामा

सम्बन्धित समाचार