मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • पासाङल्हामु राजमार्गमा जोखिम बढ्योः जनमानसमा त्रास
समाज

पासाङल्हामु राजमार्गमा जोखिम बढ्योः जनमानसमा त्रास

रसुवा, २१ असोजः ठूलो ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ ।कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतह तर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो । सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौँ सवारीसाधन ओेहरदोहर गर्दै आएको छ । ढुङ्गा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ की भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुङ्गा पल्टिन्छकी भन्ने डरले मोटरको गतिलाई तीव्ररूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौँसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताउनुभयो । आफूले सवारीसाधन गुढाइ ओहोरदोहर गर्दा ढुङ्गाको अवस्था हेर्ने गरेको र १०/१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुङ्गा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

सो ढुङ्गा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन । ढङ्गा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आम नागरिकमा त्रास देखिएको छ । भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असूली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

ढुङ्गा भन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ विसं २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ । ढुङ्गा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पु¥याउन सक्ने भएकाले सो ढुङ्गालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन् ।

नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गर्नुभएको छ । सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुङ्गाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेँसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कून तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ ।

गल्छीदेखि मैलुङहुँदै स्याफ्रुबेँसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेता पनि गत असार १ गतेको भारी वर्षाले ठाउँ–ठाउँमा भिषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ । सो स्थानमा कार्य सुरू गर्नु पूर्व नै प्राकृतिकरूपले ढुङ्गा लच्किएपछि आफू गम्भीर रहेको बताउँदै प्रमुख भण्डारीले भन्नुभयो, “दसैँ लगत्तै सडकका प्राविधिक याङयाङ खोला केन्द्रित रहने छ ।”

चर्चामा

सम्बन्धित समाचार

भर्खरै