बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • बागलुङको बलेवामा नगर अस्पताल संचालन
स्वास्थ्य

बागलुङको बलेवामा नगर अस्पताल संचालन

पर्वत, ८ असोज: पर्वत सदरमुकाम कुश्माबजार सँगै जोडिएको बलेवा क्षेत्रमा नगर अस्पताल संचालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वटा वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले नगर अस्पताल संचालनमा ल्याईएको हो । वडा नं. १३ बलेवाको पैयुँपाटामा साविकको पैयुँपाटा स्वास्थ्यचौकीलाई स्तरबृद्धि गरी नगर अस्पताल बनाईएको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गर्नुभएको छ ।

तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भएपनि अबको एक वर्षमा सुविधासम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरि अस्पताललाई थप स्तरबृद्धि गरिने भएको छ । नगर अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्थानीय मार्फत व्यवस्थापन भएको छ । अस्पतालको भवन बनाउन रु.१८ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । नगरप्रमुख पौडेलले बलेवा शहरको रुपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताउनुभयो ।

अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जना विभिन्न तहका स्वास्थ्यकर्मीहरु रहने जनाईएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, ल्याव र कार्यालय सहयोगी गरि ८ जना कर्मचारी कार्यरत छन् । यो अस्पतालबाट बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १४ नारायणस्थान र वडा नम्बर १२ अमलाचौरका २७ हजार जनसंख्या लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

सरकारको सहयोग संगै देशविदेशमा रहेका गाउँलेहरुले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्न थालेको पौडेलले जानकारी दिनुभयो । नजिकै सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा तथा पोखरा सम्म जानुपर्ने बाध्यता छ । नगर अस्पताल बने संगै गाउँमा स्वास्थ्य सेवा पाईने अपेक्षा रहेको स्थानीय पदमबहादुर केसीले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार