मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • खलङ्गामा दुई वर्षमै बिग्रिए सिसीटिभी क्यामेरा
सूचना/प्रबिधि

खलङ्गामा दुई वर्षमै बिग्रिए सिसीटिभी क्यामेरा

दार्चुला, ८ असोज: दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो ।

विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पुर्याउन भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो । जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् ।

“चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भन्नुभयो, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ ।, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।” सिसीटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो ।

मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सिसीटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

जडान गरिएको छोटो समयमै सिसीटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक चन्द बताउनुहुन्छ । बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसीटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उहाँको भनाइ छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार