शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ
समाचार

असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ

असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३२२औँ हप्तामा थापाथली पुल कुपण्डोल क्षेत्रमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ३५० जनाको सक्रियता थियो । असारे झरीमा भिज्दै गरिएको सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका, तीन वटै सुरक्षा निकायलगायत संस्थाको सहभागिता थियो ।

सफाइपछि कुपण्डोल क्षेत्रको वाग्मती किनारमा सफाइ अभियानकर्मी र नेपाल इञ्जिनीयरिङ एशोसिएसनले विभिन्न जातका ५० वृक्षरोपण गरिएको उहाँले सुनाउनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको पनि सहभागिता थियो । रुद्रमती सफाइको २७६औँ हप्तामा रातोपुलबाट कालोपुलको दुवै किनारमा सफाइ गरियो । यस क्षेत्रमा प्रदेश नं ३ सरकारको बजेटमा निर्माण भएको झोलुङ्गे पुल आगामी हप्ता शनिबार उद्घाटन गर्न लागिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको २४९औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ९ चारघर क्षेत्रमा सफाइ गरियो । सफाइसँगै यस क्षेत्रमा अर्को हप्ता रोप्न लागिएको ७०० बिरुवाको स्थान निर्माण गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले राससलाई बताउनुभयो । यसैगरी वाग्मतीको सुन्दरीघाट सफाइको १३२औँ हप्तामा त्यस क्षेत्रमा वर्षात्सँगै सफाइ गरियो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चित्र सुनुवारले बताउनुभयो । चक्रपथ सफाइको ११९औँ हप्तामा बालाजुबाट वनस्थलीसम्मको क्षेत्रमा सफाइ गरियो ।

२५० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा आठ टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । यसैगरी आलोकनगर क्षेत्रमा पनि ११९औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै घरदैलो जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो । वाग्मतीको गुह्येश्वरीमाथिको क्षेत्र, तिलगङ्गा, मनोहरालगायत स्थानमा पनि आज सफाइ गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार