बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित
समाचार

बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालित

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाउनुभएको छ ।

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी छ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४०० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिनुभएको छ । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार