मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन
समाचार

कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उहाँमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले राससलाई जानकारी दिनुभयो ।

पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उहाँको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताउनुभयो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै