मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का
खेलकुद

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ: नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ । युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गर्नुभएको हो ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिनुभयो । शेर्पाले आज सेमिफाइनल खेल्नुहुनेछ । यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गर्नुभएको छ ।

उहाँ सम्मिलित स्पर्धामा कूल चार खेलाडी मात्र सहभागी हुनुभएको छ । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी हुनुभएको छ । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो ।

टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै