बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • नेपालगञ्जमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु
समाचार

नेपालगञ्जमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए । सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताउनुभयो । मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार