मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग
पत्रपत्रिकाबाट

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ, २० साउन: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभएको छ । बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गर्नुभयो ।

उहाँले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभयो । उहाँले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्नुभएको छ । लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोप्रति गुनासो राख्दै उहाँले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताउनुभयो ।

कांग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्तिप्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गर्नुभयो । उहाँले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पार्नुभयो । उहाँले कोरोनाविरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राख्न माग गर्नुभयो । सांसद रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको बताउनुभयो । उहाँले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सातवटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराउनुभयो ।

सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो । भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले जाजरकोटको एक गाउँपालिकाका वडाध्यक्षले सेवाग्राहीमाथि ज्यादती गरेकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै