शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • म्याग्दीको स्वाँतखोलामा निर्माणा भएको मोटरेबल पुल प्रयोगविहीन
समाचार

म्याग्दीको स्वाँतखोलामा निर्माणा भएको मोटरेबल पुल प्रयोगविहीन

म्याग्दी, ११ साउन: जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताउनुभयो । “जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।”

शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो । स्वच्छन्द–गौचन जेभीले रु दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो ।

लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन् । पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ ।

हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो । निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ । बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै