मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • जापान पठाइदिने भन्दै ४० लाख ठगी, चार पक्राउ
प्रवास

जापान पठाइदिने भन्दै ४० लाख ठगी, चार पक्राउ

काठमाडौँ, ४ साउनः नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ ।

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: काठमाडौँको नयाँ बजारमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ मनाङगेट अगाडि सडकमा प्रदेश–३–०१–००३ क ४९९४ नम्बरको क्रेनले प्रदेश–२–०१९ प ९९५९ नम्बरमा सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक टोखा नगरपालिका–४ बस्ने २० वर्षीय पुजन नगर्चीको आइतबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते नगर्चीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनामा सङ्लग्न क्रेनका चालकलाई नियन्त्रणमा लिएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै