मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा
अर्थ/वाणिज्य

प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा

गण्डकी, २ साउनः सिक्टस ग्रिनीङलगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ । एक दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् । किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत रु ४५ लाख अनुदान हस्तान्तरण गरिएको छ । आव २०७८/०७९ का लागि रु २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो । घोषित पकेट क्षेत्रका २०४ बगैँचाका २० हजार बिरुवाले उत्पादन दिइरहेको छ । “सुन्तला पकेट क्षेत्रको रुपमा रहेका महानगरपालिका वडा नं २१ र २२ मा अभियान सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तलाको बोटको आधारमा रु १५ लाख अनुदान प्रदान गरिएको हो ।” प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइएको हो । कडरियाले भन्नुभयो, “रोगले बिरुवा मर्न लागेपछि बगैँचा सुधारका लागि महानगरले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालू आवमा २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको छ ।”

सुन्तलाका बिरुवा बाहिरी जिल्लाबाट ल्याउँदा रोगको प्रकोप बढ्ने खतरालाई मध्यनजर गर्दै महाशाखाले पोखरा–२२ स्थित खाल्सेमा सुन्तला नर्सरीसमेत स्थापना गरेको छ । प्रतिबिरुवाको रु २० तोकिएको छ । बाँकी रकम महाशाखाले अनुदान दिँदै आएको छ । पाँच वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले रु १०० अनुदान दिँदै आएको छ, जसमा पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट रु ४०० र त्योभन्दा माथिको हकमा रु ८०० कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको छ । पुरानो सुन्तलाको बगैँचालाई व्यवस्थित गरी अधिकतम उत्पादन गर्नेतर्फ लाग्नुका साथै नयाँ स्थानमा बगैँचा निर्माण गर्न महाशाखाले जोड दिँदै आएको छ । रोगको कारण मरेका सुन्तलाको बगैँचामा कागती र जुनारजस्ता अम्लिय जातका बिरुवा लगाउन कृषकलाई अभियानले जोड दिएको हो ।

कृषकको बगैँचामा पुगेर अनुदान वितरण: महानगरपालिका कृषि महाशाखाले कार्यक्रमअन्तर्गतको चालू आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा–२१ फेदीपाटनस्थित कृषकको बगैँचामा पुगेर चालू आवको अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेश कृषि निर्देशनालयका निर्देशक वासु रेग्मीले कृषकलाई अनुदान रकम वितरण गर्दै सुन्तलाको शत्रुको रुपमा फैलिएको सिक्टस ग्रिनीङजस्तो भाइरसबाट बोट बचाउनका लागि बोडोपेस्ट र बोडो मिक्स्चर स्प्रे रामवाणको रुपमा रहेको बताउनुभयो । सुन्तला बगैँचाको राम्रो व्यवस्थापनसँगै आवश्यक कीटनाशक औषधि मापदण्डअनुसार प्रयोग गर्ने हो भने ५० प्रतिशत उक्त रोग लागेका बोटलाई थप पाँच वर्षसम्म बचाएर उत्पादनसमेत लिन सकिने बताउँदै उहाँले बाहिरबाट खरिद गरेर ल्याएको बिरुवामा रोगको सङ्क्रमण पैmलिन सक्ने हुँदा कलमीतर्पm ध्यान दिन कृषकलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने कृषक प्रकाश पौडेलले रोगसहित असिना, जङ्गली जनावरलगायतबाट कृषकले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । चार दशकअघि आफ्नो बुबाले शुरु गर्नुभएको व्यावसायिक सुन्तलाखेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उहाँले लगभग ४० रोपनी जग्गामा ६०० भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिनुभयो ।

सुन्तला बिक्रीबाट समय राम्रो हुँदा रु आठ लाखसम्म आम्दानी गर्नुभएका उहाँले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण रु एक लाखमा चित्त बुझाउनुपरेको रासससँग दुखेसो सुनाउनुभयो । उहाँले सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष रु ६० हजार २०० नगद प्राप्त गर्नुभएको थियो । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मास्पाटनलगायतका स्थानमा भने अझै पनि फल्दै आएका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै