मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत
दैनिक नेपाल बिशेष

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

गलेश्वर, २३ असार: असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो यतिबेला किसानलाई छ ।

किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनिट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारहरुले असारे गीतको भाकासँगै धान रोप्न शुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।

यस्तै–यस्तै शब्दहरुमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको मालिका गाउँपालिका–५ की अममति फगामी झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके”, ७४ वर्षीया फगामीले भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी–२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”

कृषिसँग नेपालीहरुको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलनहरु भएका बूढापाकाहरु बताउँछन् । यिनै प्रचलनहरुको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार अबिरकुमार श्रेष्ठले बताउनुभयो ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । अहिले कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले गाउँमा जनघनत्व बढेको भएर अर्मपर्म गर्नेहरु बढेका भए पनि यो अस्थायी भएको स्थानीयवासीको भनाइ छ । म्याग्दीमा असार तेस्रो सातासम्म ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको स्थानीय तहका कृषि प्राविधिकहरुले जानकारी दिएका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै