शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • मोटरसाइकलको प्रदूषण जाँच नगरेसम्म वायु स्वच्छ नहुने
समाचार

मोटरसाइकलको प्रदूषण जाँच नगरेसम्म वायु स्वच्छ नहुने

सडकमा गुड्ने सवारीमध्ये ८० प्रतिशत मोटरसाइकल भए पनि तिनको प्रदूषण जाँच नहुँदा स्वच्छ वायुमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । धुवाँ र धुलोको प्रदूषणले राजधानीमा हिँड्न समस्या हुने गरेको छ । यसबाट बच्न धेरै यात्रुले मास्क र चस्माको प्रयोग गर्ने गरेका छन् । सवारी परीक्षण कार्यालयका प्रमुख रामचन्द्र पौडेल मोटरसाइकल परीक्षण गर्नुपर्ने नीतिगत र कानूनी व्यवस्था नभएसम्म ठूला शहरको वातावरणको अवस्था सुध्रन नसक्ने बताउनुहुन्छ । हरियो स्टिकर टाँसेर हिँड्ने ४० प्रतिशत डिजेलबाट चल्ने सवारी र ३० प्रतिशत पेट्रोलबाट चल्ने पुनःपरीक्षणमा फेल हुने गरेको उहाँले बताउनुभयो ।

प्रदूषण परीक्षण गर्ने राम्रा ‘वर्क शप’ नभएसम्म परीक्षण केवल औपचारिक मात्र हुने गरेको छ । ट्राफिक प्रहरीले चैत अन्तिम सातादेखि हरियो स्टिकर लगाएका सवारीको प्रदूषण परीक्षण शुरु गरेको छ । परीक्षणमा फेल भएका सवारीको ब्लुबुक कार्यालयमा लगी रु एक हजार जरिवाना तिरेर प्रदूषण नियन्त्रण हुने गरी मर्मतसम्भार गराउने गरिएको छ ।

कालो प्लेटका सबै सवारी साधनले ‘रुट इजाजत’ लिन छ/छ महीनामा जाँच पास गर्नुपर्ने नियम छ । यसैबेला प्रदूषणसमेत जाँच हुन्छ । सवारी परीक्षण कार्यालय टेकुमा ट्याक्सी, टेम्पो र माइक्रोको जाँचपास एवं प्रदूषण जाँच हुने गरेको छ । ठूला सवारीको परीक्षण भने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा हुन्छ । साविकको अञ्चल यातायात व्यवस्था कार्यालय र हालका प्रदेश कार्यालयबाट पनि परीक्षण हुने गरेको जनाइएको छ ।

कालो प्लेटका सवारीको सबै जाँच गरी सुरक्षित छ/छैन भनी हेर्ने कानूनी व्यवस्था भए पनि निजी सवारीका हकमा मौन रहेको कार्यालय प्रमुख पौडेल बताउनुहुन्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाअनुसार विसं २०५४ देखि प्रदूषण जाँच गरी हरियो स्टिकर लगाउन शुरु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै