शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • झापाको विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण
समाचार

झापाको विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण

नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ । नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

वितरणको पहिलो दिन नगरका वडा नं १, २ र ३ का विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १३५ लाई मिटर बक्स वितरण गरिएको थियो । विद्युत् मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको स्थानीय सहजकर्ता श्याम ओलीले बताउनुभएको छ ।

नगरक्षेत्रमा रहेका लक्षित वर्गका ४५० घरधुरीलाई क्रमिकरूपले वडामा कार्यक्रम आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगरप्रमुख पोखरेलले बताउनुभयो । एक वर्ष अगाडि मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकालाई नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको थियो ।

नगरपालिकाको संयोजनमा नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विद्युत् मिटर बक्स वितरण गरेको हो । निर्देशनालयका संयोजक राजनऋषि कँडेलले वर्तमान अवस्थामा आम उपभोक्ताको हितलाई सङ्कुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने संस्थाको उद्देश्यअनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै