बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बिरामीलाई अस्पताल पठाउने झाँक्री चित्रबहादुर
समाचार

बिरामीलाई अस्पताल पठाउने झाँक्री चित्रबहादुर

– रिपेश दाहाल

हेटौँडा, २३ असारः गएको असार १३ गते विषालु च्याउ खाँदा राक्सिराङकी १३ वर्षीया एक बालिकाको मृत्यु भयो । च्याउ खाएर बिरामी परेका चेपाङ परिवारले स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ भन्ने भेउ समेत पाएनन् । उनीहरुले च्याउको विष मार्न झारफुक र तन्त्रमन्त्रको सहारा लिए । तीन दिनसम्म चिन्ता बस्ने, ढ्याङ्ग्रो ठोक्ने र बलि दिने गर्दा पनि विषको असर कम भएन । उल्टै च्याउ खाएर बिरामी परेकाहरु झन् सिकिस्त हुँदै गए । तेर्ह वर्षीया बुञ्जीमायाँ चेपाङको त मृत्यु नै भयो ।

घटना बाहिरिएपछि राक्सिराङमा कार्यरत गैर्ह सरकारी संस्था दिगो विकासका लागि एकता नेपालले लिजा हिमालयको सहयोगमा हेलिकप्टर मगाएर अन्य बिरामीलाई अस्पताल पुर्यायो । चितवनमा उपचाररत घाइते तीनजनामध्ये १९ वर्षीय बर्दलाल चेपाङको २० गते निधन भयो । बाँकी दुईको चितवनमा उपचार भइरहेको छ । संस्थाका अञ्जन पौडेलका अनुसार बाँकी दुई जनाको अवस्था पनि खतरामुक्त छैन । जानकारहरुका अनुसार उनीहरुलाई तत्काल अस्पताल लगिएको भए ज्यान जाने थिएन तर, उनीहरु धामीको भर परे ।

मकवानपुरकै कैलाश गाउँपालिका–७ भार्ताका झाँक्री चित्रबहादुर चेपाङ भने आफूकहाँ झारफुकका लागि आएका बिरामीहरुलाई उनीहरुको चित्त बुझाएर अस्पताल पठाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ – “पहिला पहिला त म पनि फुकेर निको हुन्छ भन्ठान्थेँ तर, अहिले डाक्टरहरुले परीक्षण गरेर रोग पत्ता लगाउँछन् र रोग अनुसारको उपचार गर्छन् भन्ने कुरा थाहा भयो । झारफुक त मनोवैज्ञानिक उपचार विधि रहेछ । जीउका कीटाणु दबाई नखाई मर्दोरहेनछ । बाहिर फुकेर भाँचिएको हाड जोडिन्छ भन्नु पनि सत्य हुने कुरै भएन ।”

आफ्नो रोग निको पार्न निरीह पशुपन्छीको बलि दिनु झन् पाप गर्नु हो भन्ने उहाँ ठान्नुहुन्छ । तर, मनका बिरामीहरुको भने रातभर फलाकेर उपचार गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “उनीहरुलाई मैले फुकेर बिसेक भएको भन्ने लाग्छ । मनले नै मानेपछि धेरै मनोरोगहरु निको हुन्छ ।” अनौठो बानी भएका झाँक्री चित्रबहादुर बालबच्चाहरुलाई विद्यालय पठाउने अभियानमा पनि उत्तिकै लाग्नुभएको छ । उहाँसँग जोडिएको अर्को पाटो पनि रोचक छ ।

कैलाशस्थित सरस्वती आधारभूत विद्यालयमा अहिले ९९ जना विद्यार्थी छन् । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा एकजना बाल विकास शिक्षक र एकजना प्रावि राहत शिक्षक मात्रैले इसिडी सहित ६ वटै कक्षा पढाउँछन् । विगतमा थोरै विद्यार्थीहरु मात्र भएकाले शिक्षक सङ्ख्या बढाउन पहल नै भएन तर, यो शैक्षिक सत्रदेखि भने यस विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै बढ्यो । एकजना शिक्षकले धान्न नसक्ने अवस्था आएपछि एक मात्र शिक्षक तथा प्रधानाध्यापक रमिला हिमडुङले कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलाई विद्यार्थी सङ्ख्या बढेकाले शिक्षक थपिदिन अनुरोध गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मोक्तानलाई मकवानपुरको कर्णाली भनेर चिनिने विकट भार्ताको चेपाङ बाहुल्य क्षेत्र, जहाँ अधिकाँश बालबालिकाहरुलाई विद्यालय पठाइँदैन, मा एकाएक विद्यार्थी सङ्ख्या बढ्नुको कारण जान्न मन लाग्यो । उहाँले कारण थाहा पाउनुभयो । जसलाई हामी अन्धविश्वासका संस्थापक मान्छौं, उनले नै बढाएका थिए विद्यार्थी सङ्ख्या । उनी थिए झाँक्री चित्रबहादुर चेपाङ नै । विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै चीन गएकी शृङ्खला खतिवडालाई चर्चित बनाउने र विश्वका करोडौं मानिसले हेरेका भिडियोमा झारफुक गर्दै गरेका पात्र पनि चित्रबहादुर नै हुनुहुन्छ ।

बालबालिका बिरामी परेर झारफुकका लागि बोलाएका बखत उहाँ विद्यालय नगएकाले बिरामी परेको भनेर तिनीहरुलाई सम्झाउनुहुन्छ । “पढे सफा सुग्घर हुन्छ, सफा भए रोग लाग्दैन, जागीर खान पाइन्छ, इज्जत बढ्छ भनेर सम्झाउँछु,” चेपाङले भन्नुभयो । वास्तवमा उहाँ एक सामान्य झाँक्री मात्रै भने होइन, शैक्षिक उत्प्रेरक र समाजसेवी पनि हुनुहुन्छ । आफू कहाँ आउने बिरामीलाई उहाँ तत्काल अस्पताल जान अनुरोध गर्नुहुन्छ । बिरामीको नाममा घरमै बसेर झारफुक गरिदिन्छु भन्नुहुन्छ । अस्पताल लगे बिरामीको रोगको सही उपचार हुन्छ, झारफुक गरे मनको उपचार हुन्छ उहाँको कथन छ । “गाउँमा अशिक्षा छ, उनीहरुमा अन्धविश्वास पनि छ, उनीहरुको विश्वास म हुँ, मैले ठाउँ देखेको छु, डुलेको छु, तालीमहरु लिएको छु, मेरो विश्वास अस्पताल हो,” उहाँले भन्नुभयो ।

झाँक्री चेपाङ गाउँका गरीब चेपाङ समुदायका लागि साँच्चै नै भगवान् सरह हुनुहुन्छ । उहाँको अभियानले गाउँका धेरै बालबालिका विद्यालय गएका छन् भन्नुहुन्छ स्थानीय समाजसेवी नमुना चेपाङ । “चित्र दाइ धामी मात्र होइन समाजसेवी पनि हो, अझ भार्ताको कृषि क्षेत्रमा उहाँको ठूलो योगदान छ,” कृषि जेटिए निशा ढुङ्गाना भन्नुहुन्छ । उहाँ काठको हलो जुवा बनाउने मात्र हैन अहिले विशेष तालीम लिएर हाते ट्याक्टर पनि मर्मत गर्नुहुन्छ । गाउँका हाते ट्याक्टर बिग्रिए उहाँ मात्रै विकल्प हो । गाउँ विकासका विभिन्न योजनाहरुमा अग्रसर चित्रबहादुरले स्थानीय जातका कुखुरा पाल्न, मौरी पालन गर्न तथा फलफूलको बिरुवाहरु रोप्न गाउँलेहरुलाई अनुरोध पनि गर्नुहुन्छ । उहाँ स्वयंले पनि कुखुरा पालन, मौरी पालन तथा फलफूल खेती गर्नुभएको छ ।

शिक्षिका रमिला हिमडुङ पनि उहाँलाई असल व्यक्तिको रुपमा चित्रण गर्नुहुन्छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउन नचाहने अभिभावकहरुलाई झारफुक नगरिदिने भनेर मनोवैज्ञानिक दबाब दिएर भए बालबालिकालाई विद्यालय पु¥याउन उहाँले भूमिका खेल्दैआउनुभएको छ,” शिक्षक हिमडुङले भन्नुभयो । गाउँपालिका अध्यक्ष टंक मोक्तान झाँक्री चेपाङलाई एक समाज सुधारक र शैक्षिक अभियन्ताको रुपमा चित्रण गर्नुहुन्छ । उहाँको उत्प्रेरणाका कारण विद्यालय जान छाडेका र भर्ना नै नभएका थुप्रै बालबालिकाहरु विद्यालय जान थालेका मोक्तान बताउनुहुन्छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार