सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सर्वाधिक खोजीको सूचीका खान काठमाडौँबाट पक्राउ
समाचार

सर्वाधिक खोजीको सूचीका खान काठमाडौँबाट पक्राउ

शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा आएको मौका छोपी प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी सिनामङ्गलस्थित एउटा वैदेशिक रोजगार कम्पनीबाट निस्किएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार खान सात जनाको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । मुसलमानमाथि २०७४ फागुन ३ गते कपिलवस्तुका मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको आरोप छ । उक्त घटना व्यक्तिगत दुष्मनीमा घटाइएको प्रहरीले जनाएको छ । सोही घटनामा सिआइबीको टोलीले एक वर्षदेखि उनको खोजी गरिरहेको थियो ।

विसं २०६३ देखि अहिलेसम्म मुसलमानमाथि सात व्यक्तिको हत्या तथा अन्य अपहरण र डकैती मुद्दा दर्ता भएको छ । सिआइबीले थप अनुसन्धानका लागि उनलाई आजै कपिलवस्तु पठाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर राणाका अनुसार मुसलमानविरुद्ध सात जनाको हत्या आरोपमा प्रहरीमा जाहेरी परेको छ । विसं २०६३ जेठ १९ मा कपिलवस्तुका धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको तथा २०६४ फागुन ६ गते मोतीपुरका प्रेम परियार र सोही वर्ष चैत ९ गते हथिहवाका शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको मुसलमानमाथि आरोप लागेको छ ।

यस्तै २०६५ भदौ ३० गते अकला कोहारको हत्या, सोही वर्ष कात्तिक ९ गते राममिलनप्रसाद गुप्ताको गोली हानी हत्या, २०६७ वैशाख १३ गते पकडीका राजेन्द्रप्रसाद तिवारीको हत्या तथा २०७४ फागुन ३ गते मोहम्मद अहेमानको अपरहणपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक राणाले राससलाई जानकारी दिनुभयो । मुसलमानको बारेमा आइतबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी जानकारी दिइने उहाँले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार