मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाइनेः मन्त्री राई
समाचार

नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाइनेः मन्त्री राई

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाउने बताउनुभएको छ । मुलुककै पुरानो तथा ऐतिहासिक शहरका रुपमा रहेको नेपालगञ्जको समृद्धिका लागि काम शुरु गरिसकेको बताउँदै मन्त्री राईले भन्नुभयो, “जिल्लामा ऐतिहासिक महत्वका भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ । निर्वाचनका क्रममा गरेका सबैखाले प्रतिबद्धता पूरा हुनेछन् ।” गृह जिल्ला बाँकेमा धार्मिक सम्पदाको आज स्थलगत निरीक्षण गर्दै मन्त्री राईले संरचना बनाउने अभियानमा साथ दिन आग्रह गर्दै उहाँले अब बाँके जिल्ला मुलुककै नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

मन्त्री राइले नेपालगञ्जमा बहुद्देश्यीय सभाहल निर्माण, राप्ती नदी किनारको सिधनियाँ घाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बागेश्वरी मन्दिरलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, नेपालगञ्ज नगर उज्यालो कार्यक्रम सञ्चालन, महिला डिग्री कलेजको स्थापना र राँझामा अध्याधुनिक धर्मशाला निर्माणका लागि आफूले पहल थालिसकेको जानकारी दिँदै विकास निर्माणमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालगञ्जको विकास निर्माणका काम निर्धारित समयमै पूरा गर्न निर्देशन दिँदै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका सबै विकास निर्माणका काम सन्तोषजनक तरिकाले भइरहेको जानकारी दिनुभयो । विकासका काममा ढिलासुस्ती र आलटाल गर्ने छुट कसैलाई पनि नरहेकाले सबै जिम्मेवार तरिकाले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने मन्त्री राईको भनाइ थियो । मन्त्री राईले आज भेरी अस्पताल, नेपालगञ्जको जमुनाहास्थित शिव मन्दिर, भज्जुपुर्वाको इदगाह र भवानियापुर नगरसभा हलको निरीक्षण गर्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै