शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन
मनोरञ्जन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

चौतारा, २३ वैशाखः वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौँको नःघलमा भएको थियो । पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१/२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् । विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।

उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार