शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
अर्थ/वाणिज्य

‘मिहिनेत गरे के हुन्न’

–तारानाथ आचार्य

बलेवा, १८ वैशाखः चार वर्ष नारायणप्रसाद शर्माले बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताउनुभयो । उहाँले गाइभैँसी पालेर केही समय दूध बेच्नुभयो । पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाउनुभयो । सबै क्षेत्रमा सफलता हुँदाहुँदै उहाँले चार वर्षदेखि माछा पालन व्यवसाय थाल्नुभएको छ । उहाँको व्यवसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो ।

बागलुङ –३ को काठेखोला पावरहाउस छेवैमा उहाँको माछा फर्म छ । त्रिपन्न वर्षिय शर्माको फर्ममा ग्रास, काप, रहु, नैनी, कमन काप, बिगेड, सिलभरलगायतमा माछा छन् । माछासँगै पाँचसय हाँस, एक सय टर्की, एक हजार लोकल कुखुरासमेत रहेका छन् । यी सबै व्यवसायमा जोडिन उहाँले आफ्नो १५ रोपनी जमिनसँगै भाडाको झण्डै ४५ रोपनी जमिन गरी ६० रोपनीमा उहाँले व्यवसाय चलाउनुभएको छ ।

करिव ४५ लाख रुपैयाँ लगानीबाट उहाँले थालेको व्यवसायमा ‘फूलबारी कटेज’ नामक रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको छ । अघिल्लो वर्ष सुरु भएको रेष्टुरेन्टमा माछाका परिकार खान पाइन्छ । दिनभरीको तनाव कम गर्दै बाँसले बनेका रेष्टुरेन्टमा पुगेर अर्गानिक खाना र माछाको स्वाद लिन बागलुङ बजारका धेरै पुग्ने गरेका छन् ।

“जसले जे व्यवसाय गरेपनि, जागिर खाएपनि कृषिसँग जोडिनै पर्छ भन्ने बुझेर यता लागेको हुँ” उहाँले भन्नुभयो, “लाखौं कमाइ गरेपनि कृषि फसल खाएरै बाँच्ने हो, यो पेशामा लाग्दा धेरैको भोक मेटाउन सकिने रहेछ ।” उहाँले बारीमा केरा र केही तरकारीसमेत लगाउनुभएको छ । केराको पातसहित बोट र तरकारीका बोक्रा पनि माछाका लागि उपयोगी आहारा भएको शर्माले जानकारी दिनुभयो । वर्षको दुई लाख भाडा तिरेको जमिनमा सञ्चालित फर्मबाट उहाँले मासिक २ लाखबढी कमाइ गरिरहनुभएको छ ।

“अहिले पनि वर्षमा २० क्विन्टल माछा उत्पादन गरिरहेको छु, यो बढाएर ३० क्विन्टल पुर्याउने लक्ष छ” उहाँले भन्नुभयो, “यो मेहेनतबाट परिवारका तीन जना सदस्य र थप ३ युवा रोजगार बनेका छौं ।” माछा पालनमा हौसिनुभएका उहाँले अझै बढाउने सोच बनाएको बताउनुभयो । खोलाको छेवैमा भएकोले पानीको दुःख छैन । आफ्नै खेतमा उनले पोखरी बनाएकोले लामो समयसम्म पाल्न सकिन्छ । विदेश जान खोजेका छोरालाई समेत कृषिमा जोडेकोले उहाँ उदाहरणीय पात्र बनेको मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो ।

शर्माले वास्तविक किसानका लागि राज्यले लगानी गरेमा वैदेशिक रोजगारी घट्ने र स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने जानकारीदिनुभयो । “सरकारले किसानलाई चाहिने मल, बीउ र रसायनिक मलमा सहुलियत दिनुपर्छ” उहाँले भन्नुभयो, “कोरोनाले व्यवसायमा परेको असरप्रति पनि चासो दिएमा युवाहरु कृषि पेशामा आर्कषण हुने थिए ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले उहाँको कृषि फर्म अनुगमन गरिसक्नुभएको छ । उहाँको मेहेनत देखेपछि प्राविधिक रुपमा साथ सहयोग गर्न तयार रहेको जानकारीदिनुभयो । “हामीले पनि वास्तविक किसानलाई नै सहयोग गर्ने हो” उहाँले भन्नुभयो, “किसानलाई धनी बनाइयो भने मात्रै अन्य पेशा खोज्नेले कृषि रोज्ने छन् ।” (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै