शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
समाचार

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौँ, ३० चैतः सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

आज परेको सोमबारे औँशी यस वर्षको तेस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

मातापिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यसअघि गत साउन ५ र मङ्सिर २९ गते पनि सोमबारे औँसी परेको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै