शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम
स्वास्थ्य

सीमा नाकामा सयन्त्र नहुँदा सङ्क्रमणको जोखिम

नेपालगञ्ज, २९ चैतः छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन ।

सीमा नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट सङ्क्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको सङ्क्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ ।

भारतका ती ठाउँमा सङ्क्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले सङ्क्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउनुहुन्छ ।

संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेको छन् । सीमा नाकामा सङ्क्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्यारिन्टिनको व्यवस्था भने गरिएको छैन ।

तीन जना कर्मचारीले एउटा थर्मलगनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्यारेन्टिनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उहाँको भनाइ छ ।

भारतबाट आउनेलाई शङ्का र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा सङ्क्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् ।

ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्नबाहेक कुनै काम गर्न नसकिएको बताउनुभयो । “भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन् तर ती मानिसलाई सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न हामीले सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “ती मानिसबाट सङ्क्रमण फैलने जोखिम रहेको छ । बेलैमा सरकार सचेत हुनुपर्दछ ।”

कर्मचारी अभाव

सरकारले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, एक हेल्थ असिष्टेन्ट, एक सिनियर अहेब, एक नर्स, एक जना अनमी, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगीको गरी सात जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । जमुनाहा नाकामा एक सिनियर अनमी, एक अहेब र एक ल्याब टेक्निसियन मात्र रहेका छन् ।

ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले ती व्यक्तिको विवरण लिने, सामान्य थर्मलगनबाट ज्वरो नाप्नेबाहेक अरु कुनै काम गर्न नसकिएको बताउनुहुन्छ ।

“हामी तीन जनाले कसरी ६०० देखि ७०० जना मानिसको लागि व्यवस्थापन गर्न सक्दछाँै,” उहाँले भन्नुभयो, “सीमा नाकाबाट आउनेको हामीले विवरण मात्र राख्न सकेका छौँ । हामीले ती व्यक्तिलाई कोभिड–१९ बच्न र अरुलाई बचाउन सचेतना गराउन सकेका छैनौँ ।” उहाँका अनुसार नाका हुँदै आएका व्यक्तिमा सङ्क्रमण देखिए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी समेत रहेको छैन ।

यही चैत १३ गते भारतको महाराष्ट्रबाट आएका रोल्पाका एक जनामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण देखिएपछि उनलाई व्यवस्थापन गर्न समस्या भएको थियो । बिहान १० बजे परीक्षण गर्दा सङ्क्रमण देखिएको उनलाई राति ९ बजे मात्र एम्बुलेन्सको व्यवस्थापन गरेर सङ्क्रमितको घर रोल्पा पठाइएको उहाँको भनाइ रहेको थियो ।

“कोभिड–१९ लाई ‘छिटो परीक्षण र छिटो उद्धार’ (क्युक टेस्ट क्युक रेस्पोन्स) भन्ने मान्यता रहेको हुन्छ”, उहाँले भन्नुभयो, “तर यहाँ कुनै तयारी छैन । सङ्क्रमित देखिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने कुनै तयारी नै छैन । रोल्पाका एक जनालाई सङ्क्रमण देखिएपछि १० घण्टापछि उनलाई घरमा पठाएको थियौँ ।”

कक्षमा पर्याप्त जनशक्ति नहुँदा नाकाबाट नेपाल प्रवेश गर्नेको सबैको विवरण पनि लिन सकिएको छैन । बिहान ७ बजे कक्ष खुले पनि सुरक्षाकर्मी नहुँदा नाका प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र विवरण सङ्कलन गर्न सकिएको छैन । बिहान १० बजे सुरक्षाकर्मी आएपछि मात्र व्यक्ति ज्वरो नाप्ने र विवरण सङ्कलन गर्ने काम हुने गर्दछ ।

कक्षका अहेब हेमन्त रानाले जिल्लाबाट कसैले पनि काम गर्न समन्वय नगरेको बताउनुहुन्छ । “हामीले तीन जनालाई खटाएका छौँ । के गर्ने कसरी गर्ने भनेर अहिलेसम्म कोही पनि समन्वय गर्न आएका छैनन्” उहाँले भन्नुभयो, “हामीले जति गर्न सकेका छौँ । त्यति गरेका छांँै । हामीले मात्र गरेको कामबाट सीमा नाकाबाट आउने व्यक्तिबाट कोभिड–१९ लाई नियन्त्रण गर्न सकिदैन ।” उहाँले सीमा नाकामा कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणको लागि कुनै बलियो सयन्त्र नहुँदा नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोभिड–१९ सङ्क्रमणको जोखिम भइरहेको बताउनुहुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले कर्मचारी अभावले नाकामा सङ्क्रमण रोकथाम र नियन्त्रणको प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले चाँडै नै दरबन्दी अनुसार कर्मचारी राखेर रोकथामको कामलाई प्रभावकारी बनाइने बताउनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) का स्रोत व्यक्ति तेज वलीले कर्मचारी व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

“हामी जिल्ला र स्थानीय तहले मात्र सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न असम्भव छ,” उहाँले भन्नुभयो, “सङ्घबाट नै कर्मचारी व्यवस्थापन गरिरहेका छौँ । कर्मचारी व्यवस्थापनपछि प्रभावकारी रुपमा रोकथाम र नियन्त्रण गर्दछौँ ।” उहाँका अनुसार अहिलेसम्म छ हजार २०४ जना जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेको विवरण र ज्वरो नाप्ने गरिएको छ । यस्तै कोभिड–१९ को दोस्रो लहर चलेपछि बाँकेमा सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सीमा नाकामा १० जनामा सङ्क्रमण

भारतको उच्च जोखिम ठाउँबाट आएका १२४ जनामा एन्टिजेन परीक्षण गरिएकामा १० जनामा सङ्क्रमण देखिएको कक्षका ल्याब टेक्निसियन ज्ञवालीले बताउनुभयो । महाराष्ट्रबाट आएका व्यक्तिमा धेरै सङ्क्रमित भेटिएका छन् ।

उहाँका अनुसार सङ्क्रमणको लक्षण, शङ्का र ज्वरो आएपछि नमूना सङ्कलन गर्दा सङ्क्रमित देखिएको हो । सङ्क्रमितमध्ये लक्षण भएकालाई भेरी अस्पताल र लक्षण नभएकालाई सम्बन्धित जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा घर पठाइने गरिएको छ । कक्षका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रको मुम्बई, गुजरातबाट धेरै नेपाली स्वदेश फर्किरहेका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै