शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छः नेता नेपाल
Breaking News

विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छः नेता नेपाल

पर्सा, २९ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो ।

उहाँले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो ।

एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिनुभयो ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताउनुभयो । उहाँले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गर्नुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै