शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • पाँच महीनादेखि काठमाडौँ मण्डिखाटारमा विष्टका घरमा बस्दै आएका १२ वर्षीय बालक शाही सम्पर्कविहीन
समाचार

पाँच महीनादेखि काठमाडौँ मण्डिखाटारमा विष्टका घरमा बस्दै आएका १२ वर्षीय बालक शाही सम्पर्कविहीन

पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन । यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाडौँ मण्डिकाटारबाट सम्पर्कविहीन छन् ।

उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले चिन्तित हुनुहुन्छ । दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिकाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताउनुभयो । तर ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन् । छोराको खोजी गरिदिन उहाँले सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ ।

बाँसबारी मावि काठमाडौँमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिनुभयो । २०७३ साल चैत ७ गते आफूले पढाइ दिने भनेर बालक सुरेशलाई लगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको जिम्मेवारी दिएर बसालेका थियौँ तर रु पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ । कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन ।” बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उहाँको भनाइ छ ।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रवक्त एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताउनुभयो । यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो । बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै