शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सङ्घीय सरकारले चासो दिएन, प्रदेशले विभेद गर्यो
समाचार

सङ्घीय सरकारले चासो दिएन, प्रदेशले विभेद गर्यो

ओखलढुङ्गाका प्रदेशसभा सदस्य मोहन खड्काले जिल्लावासीको काकाकुल समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ । उहाँले १३ असारमा बसेको प्रदेशसभाको बैठकको शून्य समयमा जिल्लाको समस्या प्रदेश सरकारलाई अवगत गराउँदै भन्नुभयो, “खडेरीको मारमा ओखलढुङ्गाका किसान परेका छन, बालीनाली सबै जलेका छन् । पानी पिउनका लागि काकाकुलको अवस्था छ, सरकारले बेलैमा विशेष चासो देओस् ।”

“ओखलढुङ्गे नागरिक पानी पिउन नपाएर मर्न नपरोस्”, उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । लामो खडेरीका कारण ओखलढुङ्गाको लिखु, दूधकोशी र सुनकोशी नदी करिडोरमा बसोबास गर्दै आएका करीब ५० हजार स्थानीयवासी प्रत्यक्ष मारमा परेको भन्दै प्रदेशसभा सदस्य खड्काले तत्काल खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । कम प्राथमिकताको योजना भन्दै सङ्घीय सरकारले खडेरीपीडितलाई खानेपानी दिलाउन कुनै चासो नदिएको उहाँको आरोप छ ।

सांसद यज्ञराज सुनारले पटकपटक पहल गरे पनि साना योजना भनेर सङ्घीय सरकार पन्छिँदै आएको उहाँको आरोप छ । यता प्रदेश सरकारले पनि ओखलढुङ्गालाई खडेरीग्रस्त जिल्लाका रुपमा नबुझेको गुनासो उहाँले गर्नुभयो । प्रदेशसभा अर्थ समितिका सभापतिसमेत रहनुभएका खड्काले प्रदेशका पूर्वी जिल्ला धनकुटा र पाँचथरलाई खडेरीग्रस्त भनेर विशेष कार्यक्रम सञ्चालन गरे पनि ओखलढुङ्गाको हकमा भने प्रदेश सरकारले चासो नदिएको उहाँको भनाइ छ ।

सरकारले चाहेमा खडेरीग्रस्त क्षेत्रमा खानेपानीको आपूर्ति गर्न सक्ने बताउँदै प्रदेशसभा सदस्य खड्काले भन्नुभयो, “छिमेकी जिल्ला रामेछापमा खडेरी पीडितले लिफिटिङ बोरिङबाट पानी पिउन थालिसकेका छन् भने सरकारले चाहेमा ओखलढुङ्गावासीलाई पनि पानी खुवाउन सकन्छ ।” जिल्लामा स्थानीय तहले खानेपानी योजनामा भन्दा पनि बाटो र बिजुली विस्तारमै चासो दिइरहेका छन् ।

खानेपानी योजना आफ्नो खर्चले नभ्याउने भएकाले प्रदेश वा सङ्घीय सरकारले नै हेर्नुपर्ने दाबी स्थानीय तहको छ । बढ्दो जलवायु परिवर्तन, पर्यावरण विनाश र विसं २०७२ मा गएको भूकम्पले गर्दा ओखलढुङ्गाका लिखु, सुनकोशी र दूधकोशी करिडोरमा बसोबास गर्ने बासिन्दाले खडेरीको मार खेप्न बाध्य भएका छन् । यहाँका मुख्य बाली मकैलगायत अन्य बाली पनि अघिल्लो वर्ष झैँ यो वर्ष पनि सुकेर मरिसकेका छन् । गत वर्ष पनि जिल्लाका किसानले खडेरीको मारले अन्न भित्र्याउन पाएका थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै