बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए
प्रवास

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

सउल, १९ चैत: इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताउनुभयो । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी हुनुहुन्छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार