मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • सभामुखद्वारा दङ्गीशरण राजाको दरबार अवलोकन
समाचार

सभामुखद्वारा दङ्गीशरण राजाको दरबार अवलोकन

– दीपक बोहरा

सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङस्थित दङ्गीशरण राजा बसेको स्थानको अवलोकन गर्नुभएको छ । उहाँले आज तुलसीपुर उपमहानगरपालिका– ११ सुकौरामा रहेको दङ्गीशरणको दरबारकोे अवलोकन गर्नुभएको हो । उहाँले दाङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न दङ्गीशरण राजा बसेको स्थानमा थारु सङ्ग्रहालय बनाउन सकिने सम्भाव्यता अध्ययन गर्नका लागि आफू आएको बताउनुभयो । “दाङ पर्यटकीय दृष्टिले निकै सम्भावना भएको जिल्ला हो, हामीले थारुहरुका राजा दङ्गीशरण बसेको स्थानमा थारु सङ्ग्रहालय बनाउन सक्छौं”, उहाँले भन्नुभयो ।

यसरी थारु सङ्ग्रहालय निर्माण गर्न सकेमा थारू भाषा, वेषभूषा, कला, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज र खानपिन तथा थारू राजा दङ्गीशरणको ऐतिहासिकता झल्काउने बताउनुभयो । यसो गर्न सकेमा विदेशी पर्यटककोसमेत आगमण हुने उहाँको विश्वास थियो । उहाँले आजै दाङको तुलसीपुर १९ स्थित सङ्क्राम ब्यारेककोसमेत अवलोकन गर्नुभयो । त्यस अवसरमा उहाँले सङ्क्राम ब्यारेकलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

यसरी बन्छ पर्यटकीयस्थल

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले शिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दङ्गीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ  । सुकौराकोटदेखि सिधँै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको पश्चिम दाङका देशबन्ध्या गुर्वा लीलामणि चौधरीले बताउनुभयो ।

त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दङ्गीशरणले शिकार खेल्ने गरेको चौधरीले बताउनुभयो । दङ्गीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा शिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंबदन्ती रहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार दङ्गीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दङ्गीशरण र उहाँकी रानी बुल्बुल्या तालमा नुहाउने गर्नुभएको थियो ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ  । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दङ्गीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको पछ्ला प्रगन्नाका देशबन्ध्या गुर्वा रामशरण चौधरीले बताउनुभयो । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दङ्गीशरणले दङ्गीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ ।

त्यस ठाउँमा अहिले पनि ढङ्ंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ  । राजा दङ्गीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहनगएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दङ्गीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ  ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दङ्गीशरण गाउँपालिका–१, मलाई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

विसं १९४२ मा दङ्गीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ  । उहाँ सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उहाँकी श्रीमतीले सती जाने इच्छा गर्नुभयो तर प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उहाँले पतिसँग सती गएरै छाड्ने अडान लिएको बैवाङका भागीराम चौधरीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै