आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • चरेस नष्ट गर्दै सुरक्षा प्रमुख र जनप्रतिनिधि
समाचार

चरेस नष्ट गर्दै सुरक्षा प्रमुख र जनप्रतिनिधि

दैनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चिने गरेका सुरक्षा अधिकारी एक वर्षयता गाउँ–गाउँमा पुगेर विभिन्न खालका अभियान चलाउने गरेका छन् । कुशे गाउँपालिकको–६ थर्पुभार्मा प्रहरी चौकी स्थापना गर्न जानुभएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी नायब उपरीक्षक श्याम खत्री र गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलगायतको टोलीले डेढ रोपनी जग्गामा लगाएको चरेसखेती नष्ट गरेको छ । जिल्लाका सुरक्षा अधिकारी आफैँ उपस्थित भएर यसरी आफैँ लागुऔषधका रूपमा प्रयोग हुने चरेसखेती नष्ट गरेको पहिलो घटना हो ।

अवैध लागुऔषध चरेसखेतीलाई नष्ट गर्ने अभियान कुशे गाउँपालिकाको भार्माबाट शुरु गरेको प्रजिअ बस्नेतले बताउनुभयो । गाउँपालिकाबाट शुरु गरिएको यस अभियानलाई जिल्लाका सबै स्थानीय तहका सबै वडास्तरसम्म पु¥याइने प्रजिअ बस्नेतको भनाइ थियो । गाँजा, चरेसलगायतका अवैध लागुऔषधको उत्पादन, खरीदबिक्रीलगायतको ओसारपसार गर्न नपाउने गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको बताउँदै उहाँले लागुऔषध दुव्र्यसनीसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो ।

सरकारको नियम कानूनलाई कार्यान्वयन गराउने निकायका रुपमा सधैँभरि जनताको बीचमा नेपाल प्रहरी रहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । सरकारको निर्देशनमा गाँजा, चरेसलगायतका अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी लागिपरेको जानकारी दिँदै उहाँले अवैध लागुऔषधको कारोबार गर्नेलाई मात्र नभएर खेती गर्नेलाई पनि मुद्दा चलाउन सक्ने कानूनी व्यवस्था भएको जानकारी दिनुभयो ।

शान्ति, सुरक्षा र अमनचैन कायम गर्न जनताको पक्षमा लागिपरेको नेपाल प्रहरीलाई आम नागरिकले साथ दिन खत्रीले आग्रह गर्नुभयो । जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा चरेस, अफिमलगायतका खेती लुकीछिपी अत्यधिक गरिँदै आएको छ ।

पानी माग्दै देवताको शरणमा स्थानीयवासी

लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन् । बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन् । लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले बताउनुभयो ।

मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेघले समेत तपस्या गरेको हिन्दूहरूको आस्थाको धार्मिकग्रन्थ श्रीस्वस्थानीमा समेत वर्णन गरिएकाले पनि भगवतीलाई वर्षात्का देवीको रूपमा समेत लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । मन्दिरको फेदमा रहेको सिम कुनामूलस्थित मुहान, रल्ली सिमकुना मुहान र गल्लीस्थित भगवतीको गुठी जग्गामा रोपिएका धान खेतमा हिलो खेलेर आकाशतर्फ मन्दिरमा नित्यपूजा गरेर जल छर्कने गरिन्छ ।

डोल्पामा आकाशे पानीको भरमा खेती गरिँदै आएको छ । जिल्लाका त्रिपुरासुन्दरी, मुड्केचुला गाउँपालिका र ठुलीभेरी नगरपालिकामा पानी नपर्दा किसानको खेतबारीमा लगाएको बाली सुकेको छ । उत्पादनका हिसाबले निकै कम उर्वरभूमि रहेको डोल्पामा अधिकांश आयातित वस्तुले यहाँका स्थानीयवासीको दैनिकी चलेको छ । यहाँको ३० प्रतिशत भू–भागमा मात्र सिँचाइ सुविधा छ । यहाँको मुख्य बाली मकै, कागुनु र उवा सिमी हुन् ।

चर्चामा

सम्बन्धित समाचार