मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • कर्णालीका महिलाको सशक्तीकरण अवस्था कमजोर
समाचार

कर्णालीका महिलाको सशक्तीकरण अवस्था कमजोर

समाजमा महिलाको भूमिका महत्वपूर्ण भए पनि अपेक्षित सशक्तीकरण हुन नसकेको औँल्याइएको छ । मध्यपश्चिम विश्वविद्यालय र अमेरिकी व्यावसायिक फेलोको टोलीबीच आज सुर्खेतमा भएको अन्तरक्रियामा कर्णालीका महिलाको सशक्तीकरण अवस्था कमजोर भएको निष्कर्ष निकालिएको हो । कर्णालीमा भएका सामाजिक कुप्रथा, विद्यमान कानूनहरूको फितलो कार्यान्वयन, कमजोर आर्थिक स्तर र निरक्षताले महिलामा सशक्तीकरण हुन नसकेको अधिकारकर्मी महिमा गैह्रेले बताउनुभयो ।

अमेरिकी युनिभर्सिटीका लिजा कर्टिसले महिला सशक्तीकरणमा देखापरेका असरहरूको सूक्ष्म अध्ययनबाट उनीहरूको सामाजिक, आर्थिक र राजनैतिक अधिकार स्थापित गर्दै लैजान सुझाउनुभयो । अमेरिकन फेलो तथा क्युहाहोगा डेमोक्रेटिक वमन्स काउन्सिलका अध्यक्ष सिन्थिया डेम्सेईले प्रजातान्त्रिक अभ्यासबाट मात्र महिलाको उत्थान गर्न सकिने बताउनुभयो ।

महिला अधिकारवादी गीता कोइरालाले नेपालमा महिला, बालबालिकाको पोषण सुरक्षा, उनीहरूको अधिकार र सहभागिताको उचित व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो । “यहाँ महिला पुरुष भनेर कानूनले विभेद गरेको छैन”, उहाँले भन्नुभयो, “पुरुष प्रधान समाज भएकाले त्यसको प्रभाव अहिले पनि परिरहेको छ ।”

महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी रचना सुनारले पनि महिलालाई शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिकरुपले सशक्त बनाउन नसकेसम्म विकासको प्रतिफल नदेखिने धारणा राख्नुभयो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयले विश्वका अन्य विश्वविद्यालयसँग प्राज्ञिक क्षेत्रमा गरेको सहकार्य, सम्झौताका विषयमा पनि छलफल हुनाका साथै मध्यपश्चिम विश्वविद्यालयले इटाली विश्वविद्यालयसँग प्राज्ञिक क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै